मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – विश्वभरी छरिएर रहेका सुदुरपश्चिमेलीहरु एकजुट भएका छन् । प्रवासमा रहेर पनि सुदुरपश्चिमको बिकासका लागि केही गर्ने उद्देश्यले सुदुरपश्चिमेलीहरु बिश्वब्यापीरुपमा एकजुट भएका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजका नामबाट आइतबार एक अनलाईन भेलाको आयोजना गरी भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ । संयोजक नेगी जापानको कोबे विश्वबिधालयमा बिधावारिधि गर्दैछन् ।

समाजको उपसंयोजकमा लोकेन्द्र बम र सदस्य सचिबमा अमृत शाही चयन भएका छन् ।

त्यसैगरी जापानबाट आशिष रावल र पूर्ण चलाउने, कोरियाबाट कमल शाही, युएइबाट लक्ष्मण अधिकारी, मलेसियाबाट महेशराज भट्ट, बहराइनबाट शेरबहादुर रावत, पोर्चुगलबाट धिर्ग मल्ल, कुबेतबाट अमर खड्का, अस्ट्रेलियाबाट महेश भण्डारी, क्यानडाबाट चक्र बलायर, कतारबाट धनबहादुर बलायर, डेनमार्कबाट कविता बिष्ट, युएसबाट रमेश भट्टराई, भारतबाट भरत थापा, इजरायलबाट सुमी शाही र गीता नेपाली सदस्यमा चयन भएका छन् ।

त्यसैगरी युएईबाट चेतन थापा, कोरियाबाट धर्मराज जोशी, मलेसियाबाट प्रकाशदेब भट्ट, अष्ट्रेलियाबाट केशब जोशी, क्यानडाबाट जगदिश भट्ट, बहराईनबाट उमेश जोशी, मकाउबाट सोनु पन्थी, डेनमार्कबाट खेम जोशी चयन भएका छन् ।

पोर्चुगल सहित अन्य देशका अध्यक्षहरुलाई पछि थप्ने गरी २५ सदस्य आईतबार चयन गरिएको र बांकी १० जना सदस्य अन्य देशबाट प्रतिनिधित्व रहने गरी तदर्थ समितिको पहिलो बैठकले मनोनित गर्ने संयोजक भरत नेगीले समुद्रपारिलाई जानकारी दिए ।
नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यापार, ब्यबसाय र बैदेशिक रोजगारीको सिलसिलामा विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाइचारा एबं एकताको सुत्रमा बाँध्ने उद्देश्यले विस्तार गरिएको समाजले देशमा हुने प्राकृतिक प्रकोप एवं अन्य विपत्तिहरुमा तथा गरिब असहायहरुलाई सक्दो सहयोग गर्नुकासाथै आफ्नो भेषभूषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्य रहेको संयोजक नेगीले बताए ।

साथै समाजले सुदूरपश्चिमको पर्यटन तथा प्रबर्द्धनको प्रचारप्रसार गरी शिक्षा, स्वास्थ बेरोजगारीका आधारभुत कुराहरुको बिकासका लागि जनचेतनाका माध्यमबाट समाजमा रहेका ब्याप्त कुरीति, विकृति, बिसंगती, रुढीबादी कुप्रथा बिरुद्ध जनचेतना जगाउने हेतुले छाता संगठनका रुपमा विस्तार गरिएको पनि संयोजक नेगीले बताए ।***

तपाईको प्रतिक्रिया