मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – दर्शन समाज जापानले अंग्रेजी नयाँ बर्ष २०१७ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बिशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

ठकुरी समुदायको छाता संगठन ठकुरी समाज महासंघका केन्द्रिय अध्यक्ष चन्द्रकुमार सिंहको बिशेष उपस्थितिमा समाजले सो कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष सुरज मल्लको सभापतित्वमा भएको सो कार्यक्रममा समाजकी सदस्य सिमा हमालको स्वागत मन्तब्य रहेको थियो । राष्ट्रिय गान र लगत्तै ठकुरी गानबाट शुरु भएको सो कार्यक्रमको केन्द्रिय अध्यक्ष सिंहले दीप प्रज्वलन गरी उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रिय अध्यक्ष सिंहले आफ्ना गुमेका अधिकार प्राप्तीका लागि देशभित्र र देश बाहिर रहेका समस्त ठकुरीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको गौरवमय इतिहास ठकुरीहरुको वीरगाथाले भरिएको भए पनि कालान्तरमा ठकुरीहरु हेपिदैं र मिचिदैं आउनुपरेको यथार्थता हामीबीच रहेको भन्दै अब सबै आ-आफ्नो ठाउँबाट जुर्मुराउन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।अध्यक्ष सिंहले दर्शन समाज जापानलाई महासंघसंगको आबद्धता कायम भएको सम्बन्धन पत्र प्रदान गर्दै देशभित्र र बाहिर रहेका ठकुरीहरुबीचको एकतालाई महासंघले उच्च महत्वका साथ लिएको बिचार ब्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष सिंहलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै समाजका सल्लाहकारहरु नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, पत्रकार महासंघकी केन्द्रिय सदस्य पवनवर्षा शाह, बाँके बर्दिया समाजका अध्यक्ष जनकविक्रम शाही लगायतले ठकुरीहरुबीचको मेलमिलाप, भाइचारा र सुमधुर एकतामा जोड दिनुभएको थियो । अन्तमा, समापन मन्तब्य राख्दै सभाध्यक्ष सुरज मल्लले ठकुरी समुदायको गौरवमय पहिचानलाई जीवन्त र अक्षुण्ण राख्न दर्शन समाज जापान क्रियाशील रहने बिचार ब्यक्त गर्नुभयो ।

मैत्रिपूर्ण रात्रीभोजसहितको सो कार्यक्रमको दोस्रो चरणमा नागोया, ओसाका, इवाराकी, गुन्माकेन, योकोहामा, चिवा, साइतामा लगायतका सहरबाट उपस्थित सहभागीहरु मनोरञ्जनात्मक साँगीतिक माहोलमा झुमेका थिए । टोकियो शिन ओकुबोस्थित साकुरा इजागाया नामक भोजनालयमा भएको सो कार्यक्रममा समाजका सल्लाहकार रामकृष्णबम मल्लको सञ्चालन रहेको थियो ।

यसैबीच बिहीबार नागोयामा पनि एक समारोहको आयोजना गरी अन्तर्क्रिया कार्यक्रम सहित केन्द्रिय अध्यक्ष सिंहको बिदाई गरिएको थियो । सो अवसरमा अध्यक्ष सिंहले जापानको छोटो भ्रमण अत्यन्त फलदायी रहेको बिचार ब्यक्त गर्दै ठकुरी महासंघले बिदेशमा रहेका समाजहरुलाई जोड्ने काम जापानबाट शुरु भएको र यो क्रम जारी रहने बिचार ब्यक्त गर्नुभयो । अध्यक्ष सिंह शुक्रबारै स्वदेश प्रस्थान गर्नुभएको छ । ***

तपाईको प्रतिक्रिया