मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – जापानमा एकजना नेपालीको रहष्यमय निधन भएको छ ।

टोकियोको तोगोसी गिञ्जा बस्दै आएका ४२ वर्षीय बिनोद तुलाचन बुधवार राति अचानक बेहोस भएपछि तत्काल अस्पताल पुर्‍याईए पनि अस्पतालले मृतक घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

चितवन नगरपालिका मुग्लिन घर भई करिब ९ वर्षदेखि सपरिवार जापान बस्दै आएका तुलाचन केही वर्षदेखि सामान्य युरिक एसिडबाट पीडित थिए ।

मृतक तुलाचनको प्रहरीले आवश्यक अनुसन्धान गरिसकेको छ । उनको अन्तिम संस्कार आउँदो आइतवार गरिने भएको छ । उनका बाबुको पनि ६ महिना अगाडि मात्र निधन भएको थियो । त्यतिबेला तुलाचन सपरिवार नेपाल गएर फर्केका थिए ।

जापानमा एकपछि अर्को गर्दै नेपालीहरु रहष्यमय मृत्यूको शिकार हुने घटनाहरु बाक्लिन थालेका छन् । सन्तुलित खानपान र आरामको अभाव, कार्यब्यस्तताको बोझ, अनेकथरिका जिम्मेवारी, तनाव, बिभिन्न खाले दबाबका बिच जापानका नेपालीहरुको दैनिकी गुज्रदों छ । स्वास्थ्यप्रतिको बेवास्ता, एकनासको दौडधूप, मानसिक तथा शारीरिक थकान जस्ता कारणले नेपालीहरुलाई गाँजेको पाईन्छ । स्वास्थ्य जस्तो संबेदनशील बिषयमा सबैलाई सजग बनाउन सशक्त सचेतनामुलक अभियानको जरुरी देखिन्छ । यसतर्फ जिम्मेवार निकाय एवं संघसंस्थाहरुको ध्यान जान आवश्यक छ । ****

तपाईको प्रतिक्रिया