मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

टोकियो – जापान नेपाली एकता समाज टोकियो क्षेत्रीय कमिटीले नयाँ बर्षको अवसरमा नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती रहेको एक पृथक साँगीतिक कार्यक्रमको आयोजना गर्‍यो ।

जनवरी १ का दिन सिन्जुकुस्थित सनरुट प्लाजा होटलमा भएको सो कार्यक्रममा चर्चित जनगायक जीवन शर्मा, लोक तथा दोहोरी गायक बिष्णु खत्री, लोक तथा दोहोरी गायिका मुना थापा मगर र हाँक साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार नारायण शर्माको साँगीतिक प्रस्तुती रहेको थियो ।

जनगायक जीवन शर्माले आफ्ना दर्जनौ चर्चित गीतहरु गाएर दर्शकहरुलाई कतिखेर भावुक बनाएका थिए भने कतिखेर सबैलाई उठेर नाच्न बाध्य बनाएका थिए । यसैगरी मुना थापा मगरको लोकलहरीमा पनि दर्शकहरु झुमेका थिए भने बिष्णु खत्रीको प्रस्तुतीमा दर्शकहरु उफ्रि उफ्रि नाचेर भरपुर मनोरञ्जन लिएका थिए । कुशल उदघोषकको परिचय बनाएका नारायण शर्माको आकर्षक सञ्चालनमा भएको सो कार्यक्रम ओसाकादेखि आमन्त्रित नौमती बाजा समुहको प्रस्तुती पञ्चेबाजाबाट शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा रक्तिम परिवारका कलाकारहरु सचित्र केसी र सिर्जना गौतमको युगल नृत्य र ओसाका समुहको पञ्चेबाजा टोकियोका दर्शकहरुका लागि रोचक र नयाँ स्वादकारुपमा धेरैले मन पराएका थिए । कार्यक्रममा सूर्य खड्का, बिनोद भण्डारी लगायतका स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

जीवन शर्माको गीतमा सचित्र केसी र सिर्जना गौतमको नृत्य भिडियोमा  

जापान नेपाली एकता समाज टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष बिष्णु केसीको सभापतित्वमा भएको सो साँगीतिक समारोह जापान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको थियो । समारोहमा समाजका सल्लाहकार मानबहादुर थापाको स्वागत मन्तब्य रहेको थियो भने प्रमुख अतिथि कँडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, गल्कोट समाज जापानकी उपाध्यक्ष कालिका केसी लगायतले नयाँ बर्षको शुभकामना मन्तब्य दिएका थिए । प्रारम्भमा औपचारिक चरणको कार्यक्रम लक्ष्मण कार्कीको सञ्चालनमा भएको थियो । कार्यक्रममा उत्साहजनक दर्शकहरुको उपस्थिति रहेको थियो ।  समाजले अघिल्लो दिन ओसाकामा पनि कार्यक्रन गरेको थियो ।  ***

तपाईको प्रतिक्रिया