Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – अंग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा जापानमा थुप्रै साँगीतिक कार्यक्रमहरु आयोजित छन् । ती कार्यक्रमहरुका लागि जापानका नेपालीहरुलाई झुमाउन चर्चाका शिखरमा रहेका दर्जनौ कलाकारहरु अहिले जापानमा छन् । कलाकारहरुको आगमनसंगै नयाँ बर्षको माहौल तातिईसकेको छ । यसैसन्दर्भमा गल्कोट समाज जापानले आयोजना गरेको नयाँ वर्ष कार्यक्रमका लागि आमन्त्रित शिव परियार, देवी घर्ति, बसन्त थापा र कमल गाउँले पनि अहिले जापानमा छन् । ती मध्य नेपाली साँगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका समकालिन साँगीतिक दुनियाँका एक सशक्त गायक शिव परियारसंग उनको कला जीवन र साँगीतिक यात्राका सम्बन्धमा समुद्रपारिले गरेको कुराकानीमा आधारित नालीबेली यसप्रकार छ ।

म जापान पहिले पनि आएको थिएँ, त्यसपछि पनि मलाई माया गरेर धेरैचोटी जापानबाट बोलावट गएको थियो तर मैले समय मिलाउन नसक्दा आउन पाईनँ । यसपटक गल्कोट समाज जापानको निमन्त्रणामा फेरि जापान आएको छु । मेरा आदरणीय दर्शक स्रोताहरुले औधी रुचाईएका मेरा सिर्जनाहरुको कोसेली बोकेर जापान आएको छु । मलाई बिश्वास छ, मौसमी तापक्रम बढ्दो चिसो भएता पनि यसपाली जापानका नेपालीहरुलाई ज्वरो नै आउने गरी नचाएर देखाईदिने छु । जापानका तीन सहरमा आयोजित कार्यक्रम मध्य मैलै दुईवटा कार्यक्रमको मात्र पारिश्रमिक लिने र अर्को एउटा भने च्यारिटीमै गर्ने वचन दिएको छु किनभने आयोजित कार्यक्रमहरु परोपकारी कार्यमा लक्षित छन् । डिसेम्बर ३१ मा नागोया, जनवरी १ मा ओसाका र जनवरी २ मा टोकियोमा हाम्रो कार्यक्रम हुँदै छ, पायक पर्ने कार्यक्रमस्थलमा यहाँहरुसंग हाम्रो साँगीतिक भेट हुने छ ।

मनकुमारी परियार र साधुराम परियारको कोखबाट सर्लाहीको हजरियामा जन्मेका शिव परियार अहिलेका चल्तीका गायक हुन् ।१९८२ को फेब्रुअरीमा जन्मेका शिव सानैदेखि संगीतमा औधी रुची राख्दथे । सन् १९९४ मा जतिबेला उनी १२ वर्षको कलिलो उमेरका थिए, उनले अध्ययन गर्ने हजरिया गाउँको सरास्वती माध्यामिक विद्यालयबाट जिल्लास्तरिय बालगीत प्रतियोगितामा पहिलोचोटी भाग लिएर बिजयभए देखि उनको साँगीतिक यात्रा सुरु भएको हो । त्यसपछि स्थानीय साँगीतिक कार्यक्रमहरुमा उनलाई बोलाईन थालियो । उनले १९९६ मा पुनः दोस्रोपटक जिल्लास्तरिय प्रतियोगितामा प्रथम भए । यो सफलतासंगै उनलाई राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन हौसला मिल्यो । त्यसपछि मात्र उनको औपचारिक रुपमा साँगीतिक यात्राको प्रारम्भ भएको उनी बताउँछन् ।

उनले सन् २००० देखि २००३ सम्म क्लासिकल कोर्स र तबला बादनको अध्ययन गरे । त्यसपछि उनले स्वदेश तथा बिदेशमा गएर बाद्यबादन तथा क्लासिकल म्युजिक (भोकल) सिके ।शिव परियारका अत्यधिक रुचाईएका थुप्रै एल्बमहरु बजारमा छन् । शिव परियारले सन् २००५ मा पहिलो सोलो एल्बम मोक्ष बजारमा ल्याएका हुन्, त्यसपछि सन् २००८ मा स्वयम र कदम्बिनी, २००९ मा क्या दामी भो, २०१० मा फाटेको मन, २०११ मा पागल, २०१२ मा कथाले मागेपछि र वन्ली यु मेरो साथी, २०१३ मा टाढाको साथी र २०१५ मा शिवबुक गरी हालसम्म उनका १० वटा एल्बम बजारमा छन् ।

थुप्रै चलचित्रहरुमा समेत आफ्नो स्वर दिएका शिव परियारको अलिकति नजर तिम्रो, पागल बनायौ प्रिय, कहाँ थियौं तिमी, संगै डुब्दैछु म तिम्रो यादमा, सुन्छु तिमीले मलाई, बाटो मोडेर गयौ, नभेटी नभेटी, धेरैचोटी मरे म त, क्या दामी भो, पिलायो साथीले, फेसबुकले, कुवाको पानी, गालैको कोठी, रुपौली रानी, माया देउ, पार्वती पार्वती, छड्के तिम्रो नजरले, रोशी खोला, फेवा तालमा सांईली लगायतका दर्जनौ गीतहरु सुपरहिट छन् । गायकीमा नयाँपन र त्यसमा उनको जादुमय स्वरको समिश्रणले उनका गीतहरु हरेक उमेर समुहका स्रोताबिच लोकप्रिय बन्ने गरेको पाईन्छ ।

सन् २००३ मा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा नेपाली आधुनिक संगीत (पप, लोक, क्लासिकल र गजल) मा ’ए ग्रेडको गायक’ को अवार्ड पाएका थिए । त्यसपछि उनी एकपछि अर्को गर्दै थुप्रै अवार्डहरुबाट सम्मानित भैसकेका छन् । बेष्ट भोकल पर्फेन्स अफ दि इअर इमेज अवार्ड – २००९, बेष्ट भोकल पर्फेन्स अफ दि इअर कालिका एफएम अवार्ड – २००९, बेष्ट भोकल पर्फेन्स अफ दि इअर अन्नपूर्ण अवार्ड – २०१०, बेष्ट प्लेब्याक सिङ्गर अफ दि इअर कालिका एफएम अवार्ड – २०१०, बेष्ट प्लेब्याक सिङ्गर अफ दि इअर सिजी डिजिटज फिल्म अवार्ड – २०१२, बेष्ट प्लेब्याक सिङ्गर अफ दि इअर बिन्ध्यबासिनी अवार्ड – २०१३ बाट उनी सम्मानित भईसकेका छन् ।
यसैगरी उनले बन्दिपुर बिकास समिति, लायन्स एण्ड लियो, युथ रिवार्ड, बेष्ट सङ अफ नेशनल फिलिङ्स इमेज अवार्ड, बेष्ट गजल सिङ्गर रेडियो गोर्खाली अवार्ड पोखरा, बेष्ट प्लेब्याक सिङ्गर अफ दि इअर म्युजिक खबर अवार्ड, नारायण गोपाल युवा संगीत पुरस्कार, बेष्ट प्लेब्याक सिङ्गर अफ दि इअर- २०१४, बक्स अफिस नेशनल साइन अवार्ड २०१४, अनाम मण्डली र अन्तर्राष्ट्रिय गजल मञ्चद्वारा मोतीराम-सेतुराम गजल सम्मान २०१४, नेपाल सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा सम्मान – २०१६ बाट पनि उनी सम्मानित छन् ।
हजरिया गाउँदेखि शुरु भएको उनको साँगीतिक यात्रा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुसम्म बिस्तार भएका छन् भने हुने क्रम जारी छ । साँगीतिक यात्राका क्रममा नेपालका धेरैजसो जिल्ला पुगिसकेका शिव अष्ट्रेलिया, जापान, इजरायल, हङकङ, थाईल्याण्ड, बेलायत, पोल्याण्ड, जर्मनी, स्पेन, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, पोर्चुगल, नर्वे, कोरिया, साउदी अरेबिया, कुवेत, मलेसिया, कतार, बहराइन लगायतका मुलुकहरुमा पुगिसकेका छन् ।

समकालिन साँगीतिक क्षेत्रका सशक्त गायक शिवले आजको दिनमा हासिल गरेको सफलताको उचाई भने त्यति सहजै चुमेको होईन । उनले आफ्नो क्यारियर निर्माणमा गरेको संघर्षको कथा जो कोही अरुसंग तुलना गर्न नसक्ने खालको छ । क्यारियरका प्रारम्भिक दिनहरुमा उनले दैनिक लगातार १० घण्टासम्म रियाज गर्ने गरेको उनी बताउँछन् । उनीभित्रको साँगीतिक भोकलाई निखार्न उनी मादल मात्र बजाएर साधना गर्ने गरेको अनुभव पनि उनले सुनाए ।

नेपाली साँगीतिक बजारका अत्यन्त ब्यस्त गायक शिवको परिचय गायकीमा मात्र सीमित छैन, उनी बहुमुखी प्रतिभाशाली गायक मानिन्छन् । उनी भन्छन – २, ४ दिन घुम्न र २, ४ वटा लुगा फेर्न बिदेशबाट बोलाईने साँगीतिक निम्ता भन्दा राम्रो प्रस्ताव आएमा बिश्वको जुनसुकै देशमा पनि जान सकिन्छ । ब्यस्तताको चापबिच मेरा केही कुरा राख्ने अवसर दिनुभएकोमा जापानबाट सञ्चालित लोकप्रिय अनलाईन समुद्रपारि डट कम परिवारलाई धन्यबाद दिन चाहान्छु । स्वदेश तथा बिदेश लगायत जापानबासी समस्त नेपालीहरुमा नयाँ वर्षको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु । ***

तपाईको प्रतिक्रिया