Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – सत्तारुढ काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ । ‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद टेबल हुन्छ । चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधन सम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए ।  

काँग्रैले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’ काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न मधेसी दलहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि मोर्चाका नेताहरूले संसद्मा टेबल भएर संशोधन पास हुने अवस्थामा आफूहरू निर्वाचनको विरोधी नभएको बताएका थिए । ‘०७४ माघ ७ सम्म तीनवटा चुनाव गर्नु छ । यसका लागि संशोधन प्रस्ताव पास गरौँ त्यसपछि हामी अगाडि बढ्न तयार छौँ भन्ने हाम्रो कुरा राख्यौँ । हाम्रो कुरामा काँग्रेस सभापतिले यो प्रस्ताव पारित हुन्छ, बाहिर जसरी हल्ला भएको छ यसमा विश्वास नगर्नुस् भन्नुभएको छ,’ यादवले भने, ‘यो टेबल नभई स्थगन वा फिर्ता सम्भव नै छैन ।’ बैठकमा काँग्रेस सभापति देउवासहित नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेल र मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्रराय यादव, अनिल झासहितका नेता सहभागी थिए । काँग्रेस र मोर्चाबीच शनिबार पनि छलफल हुने भएको छ ।

संशोधन प्रस्ताव परिमार्जनको आशामा मोर्चा
संविधान संशोधन प्रस्ताव पारित गएपछि निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने मधेसी मोर्चाले जनाएको छ । संसद टेबल भएपछि परिमार्जन गरेर जान सकिनेमा मधेसी मोर्चा छ । ‘निर्वाचनबारे उहाँहरूले चिन्ता जाहेर गर्नुभयो, तर हामीले यसलाई पास गरौँ अनि चुनावको मिति घोषणा गरेर जाँदा हामीलाई चुनावमा भाग लिने वातावरण बन्छ नत्र गाह्रो हुन्छ भनेका छौँ,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘परिमार्जन भनेको प्रक्रिया हो । टेबल भएपछि पनि परिमार्जन गर्न सकिन्छ । त्यसैले पहिले टेबल गरौँ भन्ने हाम्रो जोड हो ।’ तराई मधेस सद्भावना पार्टी नेपालका नेता महेन्द्रराय यादवले संशोधन प्रस्ताव र निर्वाचन ऐनका विधेयक सँगै संसद्मा लग्छौँ भन्ने आश्वासन आएपछि आफूहरू सकारात्मक भएको बताए । ‘टेबल भएपछि परिपक्व हुन्छ । सबैको विचार बन्छ । सोही कारण हामी टेबल गर्न तयार भएका हौँ,’ उनले भने, ‘काँग्रेस सभापतिले पनि टेबल भएपछि पास हुन्छ भन्ने विश्वास दिनुभएको छ । एमालेले टेबल हुन दिइरहेको छैन । उनीहरू गलाउन चाहन्छन् । तर, टेबल भएपछि वातावरण सकारात्मक बन्छ भन्ने हाम्रो विश्वास छ ।’

पुरानै स्थानीय निकायको पक्षमा मोर्चा
मधेसी मोर्चाले नयाँ स्थानीय तहको चुनाव गर्दा संख्या घट्ने भन्दै पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा देउवाले आफू पुरानो वा नयाँ जुनको निर्वाचन भए पनि आफूले निर्वाचन चाहेको बताएका थिए । ‘नयाँ संरचनामा संख्या घट्ने हुँदा पुरानै संरचनामा स्थानीय निर्वाचन गर्दा राम्रो हुन्छ भन्ने विषय मोर्चाका नेताबाट आएको थियो,’ काँग्रेस नेता भन्छन्, ‘तर, सभापतिले कांग्रेसलाई पुरानो वा नयाँ जेको चुनाव पनि मान्य छ, तर चुनाव रोक्न पाइँदैन भन्नुभएको छ ।’

तपाईको प्रतिक्रिया