Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको हत्या सम्बन्धमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिहरुले पाँच बुँदे माग सहित संयुक्त रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा राजनीतिक रुपमा प्रतिक्रान्तिका पक्षधरहरुको सक्रियता बढ्नुसँगै रुपमा दलित तथा उत्पिडित समुदायमाथि निरन्तर उत्पिडनका घटनाहरु बढ्दै गएको बताएका छन् । उनले भने ‘राजनीतिक रुपमा उत्पिडित समुदायले पाएका उपलब्धीहरु कमजोर हुँदै जानुको परिणाम स्वरुप दलित समुदायमाथि अमानवीय घटनाहरु बढ्दै गएको छ । यसतर्फ समग्र उत्पिडित समुदाय चनाखो हुनु आवश्यक छ ।’

प्रधानमन्त्रीले पछिल्लो समयमा देशभर दलित समुदायमाथि बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितले न्याय पाउन नसकिरहेको भन्दै तत्काल पीडितलाई न्याय दिलाउन आफूले जतिसक्दो प्रयास गर्ने आश्वासन दिए ।

ज्ञापनपत्रमा भनिएको छ – ‘कानुन विपरित हिरासतमा राखेर लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई प्रहरीले यातना दिई दोषि प्रमाणित गर्ने प्रयास गरिरहेको छ । हिरासतभित्रै हत्यारा हिरा लामाले मिलन परियारलाई ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनी उल्टो पीडितमाथि झने पीडा थप्ने काम गरिएको छ ।’

ज्ञापनपत्रमा प्रहरी लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कानुनी कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ती, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीलाई निलम्बन तथा कारवाही, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमानको तत्काल रिहाइ तथा सानो वाङ्थलीका दलित परिवारको तत्काल जिउधनको सुरक्षा सहितका माग राखिएको छ । ***

ज्ञापनपत्र बुझाउँदै संयुक्त राजनीतिक दलित सघर्ष समितिका संयोजक डम्बर विश्वकर्माले दलित समुदायमाथि भइरहेका उत्पिडनका घटनाहरुलाई रोक्नका लागि सरकारले तत्काल पहल नगरेमा समग्र दलित समुदाय देशव्यापि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

नेपाल दलित संघकी महासचिव, लक्ष्मी परियार, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम, महासचिव गणेश विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार, नेपाल दलित मुक्ति मोर्चा नेपालका रामलाल विश्वकर्मा, जातीय समता समाजकी गौरा नेपाली, विभेदमुक्ति प्रगतिशील समाजका अध्यक्ष टिकाराम दियाली, नेपाल राष्ट्रिय दलित केन्द्रका उपेन्द्र छटुञ्जेल, दलित नागरिक समाजका पदम सुन्दास, शिवहरि ज्ञवाली, चिलोकचन्द विश्वास लगायतको एक टोलीले ज्ञापनपत्र बुझाएको थियो । ***

तपाईको प्रतिक्रिया