शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – चार वर्षदेखि जापानमै बेपत्ता भएका काभ्रे जिल्ला चौबास – ९ का पृथ्वी कुँवरकी श्रीमती अनिता गुरुङले श्रीमानको खोजतलास गरिदिन जापानबासी नेपालीहरु समक्ष अपिल गरेकी छिन् ।

कमाउन जापान आएको आफ्नो जीवनको सहारा श्रीमान सम्पर्कबिहिन भैदिएपछि आफु विचल्लीमा परेको भन्दै खोजतलास गरीदिन अपिल गरेकी हुन् ।
काभ्रेका कुँवर र लम्जुङ सुन्दरबजारकी अनिता २०६७ सालमा बिबाह-बन्धनमा बाँधिएका हुन् ।

करिव दुई वर्ष संगै बसेका यो जोडि सहमतिमै बैदेशिक रोजगारीका लागि जापान आउने योजना तय भएपछि आफैले ११ लाख रुपैंया रकमको जोहो गरेर श्रीमानलाई जापान पठाएको अनिताले बताईन् । उनले भनिन् – जापान गएको १ वर्ष सम्म त सम्पर्कमै हुनुहुन्थ्यो ३ लाख जति पैसा पनि पठाउनुभा’थ्यो, त्यसपछि एकाएक सम्पर्कबिहिन हुनुभयो, चार वर्ष भयो सम्पर्क भएको छैन ।’

’श्रीमानलाई जापान पठाउँदा लिएको चर्को ब्याजको ऋण समयमा तिर्न नसक्दा साहुले मेरो नाममा मुद्दा हालेर मुद्दा पनि किनारा लागिसकेको छ, जायज्येठा सबै सकियो, अनिताले गला अवरुद्ध बनाउँदै अगाडि भनिन् – ‘बाँच्ने आधार केही छैन, अहिले म घर न घाटकी भएकी छु ।’
अनिताले जापानमा हराएका आफ्ना श्रीमान पृथ्वी कुँवरको खोजतलास गरी नेपाल पठाईदिन जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एक पत्रमार्फत अनुनय विनय गरेकी छिन् । श्रीमानको नागरिकता, फोटो र फोन नंवरसहित समुद्रपारिलाई पठाएको पत्रमा उनले अरु विकल्प केही नभएपछि मिडिया गुहार्नुपरेको भन्दै बाध्य भएर ब्यक्तिगत विवरण सार्बजनिक गर्नुपरेकोले यसबाट पर्न जाने असुबिधाप्रति स्वयम श्रीमान पृथ्वी कुँवर नै जबाफदेही हुनुपर्ने बताएकीछिन् । अनिताले आफु एक प्रकारले पागल जस्तै भैसकेकी बताएकीछिन् ।

रोजगारीका उपयुक्त अवसरहरुको अभावमा आफ्नै धर्तीमा रमाउन नसकेर बैदेशिक रोजगारीका खातिर भरभराउँदो जवानी अवस्थाको दाम्पत्य जीवन चटक्कै छोडेर मुग्लान पसेका कैयन् श्रीमानहरु बेपत्ता भईदिँदा थुप्रै अनिताहरुको बिचल्ली मात्र भएको छैन, बैबाहिक जीवन नै खरानीमा परिणत हुन पुगेको उदाहरण हाम्रो समाजमा प्रशस्त भेटिन्छन् । जुनी जुनी संगै जिउने र संगै मर्ने कसम खाएर जग्गे घुमेका कसैका श्रीमान त कसैका श्रीमती मुग्लान भासिएपछि सबै बिर्सेर अर्कैको प्रियपात्र बनिदिदा बेपत्ता भैदिन्छन् त कतिपय अन्य कारणले परिवारदेखि टाढिन पुग्दछन्, यो हाम्रो समाजको यथार्थ चित्रण हो ।

श्रीमान पृथ्वी जापानको जुनसुकै ठाउँमा रहेको भए पनि सम्पर्कमा आईदिन अनिताले आग्रह गरेकीछिन् भने कसैले भेटेमा खबर गर्न जापानबासी नेपालीहरुमा अपिल गरेकीछिन् । उसो त अनिताको भाइ मीन गुरुङ पनि जापानमै छन, सुरुमा ६ महिना जति साला भेना संगै बसेको भए पनि त्यसपछि अलग्गिएपछि सम्पर्कबिहिन हुन पुगेको उनी बताउंछन । ***

अपडेट :

समाचार प्रभाव – पृथ्वी कुँवर सम्पर्कमा आए

तपाईको प्रतिक्रिया