Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

खोटाङ – “म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।” विदेशबाट फर्किएकी एक महिलाले भन्नुभयो, “विदेश जानका लागि पुर्याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला !”
कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उहाँको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिनुभएको हो । “सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।” विगत सम्झँदै उहाँले भन्नुभयो, “पच्चीस हजार रुपैयाँ तिरेर कुँवेत हिँडे । इन्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।” उहाँले थप्नुभयो, “प्रक्रिया नपुर्याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।” पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताउनुभयो । “नौ वर्षसम्म कुवेतमा बसेँ तर, पैसा भने दिएनन् ।” उहाँले भन्नुभयो, “आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पनिउँले कुट्ने गथ्र्यो ।” घरेलु कामदारका रुपमा कुँवेतमा रहँदा त्यहाँकी साहुनीले पटकपटक यातना दिने गरेको उहाँले बताउनुभयो । कुवेतकी साहुनीले तँलाई मैले किनेर ल्याएको, केको पैसा दिनु भन्दै एक दिन तन्नामा झुन्ड्याइ दिएको पनि उहाँले जानकारी दिनुभयो ।
साहुनीको ज्यादती सहन नसकेर त्यस घरबाट भागेको राईले बताउनुभयो । “मलाई झुन्ड्याएको ठाउँबाट चारवटा तन्ना जोडेर भाग्न सफल भएँ ।” उहाँले भन्नुभयो, “त्यहाँबाट निस्किएपछि बाटोमा भेटिएका मान्छेलाई आमाबुबा झै सम्झिएँ ।”
बाटामा भेटिएका मान्छेकै सम्पर्कमा नेपाल नआइकन उताउतै साउदी गएको उहाँले सुनाउनुभयो । “साउदीमा पनि घरभित्रकै काम थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।” उहाँले भन्नुभयो, “काम गर्न सबै आउँथ्यो, त्यसैले सजिलै भयो ।” साउदीमा तीन वर्षसम्म बसेर फेरि पनि विदेश नै जाने सोच राखेर त्यहीँबाट ओमन गएको राईको भनाइ छ । “अहिले म ओमनबाट छुट्टीमा आएकी हुँ ।” उहाँले भन्नुभयो, “मैले धेरै दुःख पाएकाले विदेश जान चाहने महिला साथीलाई विदेश जानुपूर्व सबै कुरा बुझेर मात्र जानु भनेर सुझाव दिइरहेकी छु ।” घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैँले टार्नुपर्ने हुँदा बाध्यतावस आफू विदेश गएको राईले बताउनुभयो । घरमा वृद्ध आमाबुबा र छजना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।
जिल्लाका अधिकांश महिला विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको बालसेवा समाज नेपाल, नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौला बताउनुभयो । गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्रमा आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया