Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – काठमाडौं उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १८८ औँ हप्तामा शनिबार बल्खु पुल र तरकारी बजार क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले बल्खुपुल क्षेत्रमा र अर्को समूहले तरकारी बजारमा सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सरसफाइसँगै त्यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम समेत गरिएको उहाँले बताउनुभयो । बल्खु क्षेत्रका घरदैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको थियो ।

आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापाको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लोकसेवा आयोगबाट अधिकृत परीक्षा उत्तीर्ण गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरहनुभएका १०० जना, रोयल सहकारी, जीवन विज्ञान नेपाललगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो ।

अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल–गुह्येश्वरी खण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४७ औँ हप्तामा शनिबार बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफा गर्दा मन्दिर परिसरबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, लिटिल फ्लावर स्कुल, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

विष्णुमती सफाइमा महायज्ञ, फोहर नफाल्ने सङ्कल्प विष्णुमती सफाइको एकसय २१ औँ हप्तामा तारकेश्वर नगरपालिका– १६ स्थित तारकेश्वर मन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइसँगै मन्दिरमा गायत्री परिवार नेपालको सक्रियतामा वैदिक यज्ञ गरी स्थानीयवासीले नदीमा फोहर नफाल्ने सङ्कल्प गरेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

नख्खुखोला सफाइको ६७ औँ हप्तामा नख्खुपुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालि, श्रीकुल स्कुल, विश्व सफाइ अभियन्ताद्वय राजमान महर्जन र सुशीला महर्जनको सहभागिता रहेको अभियानकर्मी बलुदेव पाण्डेले बताउनुभयो ।

गुह्येश्वरीमाथिको बागमती सफाइको एकसय ४९ औँ हप्तामा गोठाटार र जोरपाटी पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतको सक्रियता थियोे । सफाइसँगै नदी किनारमा रोपिएको बिरुवामा पनि गोडमेल गरी पानी हालिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

आगामी हप्ता यस क्षेत्रमा सफाइ सुरु गरिएको एकसय ५० औँ हप्ताका अवसरमा विशेष कार्यक्रमको तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया