Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकार रहने वा नरहने भन्ने कुरा संसदको अंकगणितमा निर्भर रहेको बताउँदै अहिले नै आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नभएको बताउनुभएको छ । महतले भन्नुभयो, ‘अहिले सरकार परिवर्तनको खेलमा कांग्रेस छैन, अस्थिरता ल्याउने कुरामा कांग्रेस लाग्दैन् ।’

उहाँले नेपाल अहिले पनि राजनीतिक मुद्दामा बढी रुमलिइरहेको भन्दै गुनासो गर्नुभयो । ‘हामी अझैपनि राजनीतिक मुद्दामा बढी केन्द्रित भयौं, आर्थिक समृद्धिको विकासमा लाग्ने बेलमा यसमा अल्झिनु दुर्भाग्य हो ।’ उहाँले अहिलेसम्म पनि नेपालका नेताहरुमा राजनीतिक परिपक्वता नआएको आरोप लगाउनुभयो । उहाँले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा नेता डा. महतले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठिक हो ।’ महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनु पनि उचित नहुने जिकिर गर्दै भन्नुभयो, ‘अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प छैन ।’

महतले भन्नुभयो, ‘अहिले संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैन, यो उचित पनि छैन, बरु अब यसलाई थाँती राखेर अन्य अति आवश्यक ऐन÷कानूनहरुलाई अघि बढाउनुपर्छ, निर्वाचन सम्बन्धी विधेयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्छ, अहिले संसदमा विभिन्न ऐन तथा कानूनहरु छन्, तीनीहरुलाई निष्कर्षमा पुर्याउनुपर्छ, अब चुनावको मिति घोषणा गर्नुपर्छ ।’

उहाँले स्थानीय तहलाई अहिलेको संविधानले धेरै अधिकार दिएको उल्लेख गर्दै भन्नुभयो, ‘अहिलेको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ, स्थानीय तह जति अधिकार त जिल्लालाई पनि छैन ।’ महतले अधिकारको उपयोग ठीक ढंगले हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यसको संरचना बनाउनुपर्छ, मानवस्रोत चाहियो, प्रशासनिक पूर्वाधार चाहियो, भौतिक पूर्वाधार चाहियो ।’

उहाँले स्थानीय तहको पुनर्संरचनाको लागि आयोगले काम गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘आयोगले काम त गरिरहेको छ, तर यसलाई विवादमा पार्ने काम कसैले गर्नुहुँदैन, कतिपय जिल्लामा अझै विवाद छ, तराईका ८ जिल्लामा आयोग अहिलेसम्म प्रवेश नै गर्न सकेको छैन्, त्यसैले जबरजस्ती आयोगलाई काम गर्न प्रेसरपनि दिनुभएन, जनताको जनमत विपरित कुनै पनि प्रदेशको सिमांकन हेरफेर गर्नुहुँदैन् ।’

स्थानीय तहको पुनर्संरचना गर्ने विषय अत्यन्तै महत्वपूर्ण विषय भएकोले यसमा हतार गर्न नहुने उहाँको भनाई थियो । महतले थपे, ‘बरु केही समय लागेपनि लागोस्, विज्ञहरुलाई लिएर भएपनि काम गर्नुपर्छ ।’ उहाँले परिवर्तनको नाममा जथाभावी काम गर्दा गञ्जागोल हुनेतर्फ सचेत गराउँदै संविधान अनुसार नै काम गर्नुपर्ने धारणा राख्नुभयो ।

पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलबीच भएको सहमति स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । ‘स्थानीय निकायको चुनाव हुनुपर्छ भनेर त मैले त पहिलेदेखि नै भनिरहेको छु, अहिले निर्वाचन आयोगलेपनि यही वर्षभित्र सम्भव छ भनेर भनिसकेको अवस्था छ ।’

उहाँले एमालेले भनेजस्तो अहिले नै केन्द्रिय संसदको चुनाव गर्न नहुने जिकिर गर्नुभयो । महतले भन्नुभयो, ‘अहिले समय बाँकी छ, ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोले समय बाँकी छ ।’ उहाँले स्थानीय निकायको निर्वाचन नै अहिलेको आवश्यकत्ता भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया