पर्वत – गत वर्ष वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा भत्किएको यहाँको एक विद्यालय दाताको सहयोगमा पुनःनिर्माण सुरु भएको छ । पर्वतको राम्जादेउराली गाविसमा रहेको पशुपती उच्च माविको भवनको पुनःनिर्माण सुरु गरिएको हो ।
भूकम्पले विद्यालयका १६ वटा कक्षाकोठा पूर्णरुपमा भत्किएका थिए। भूकम्पले विद्यालयका सबै भवन भत्किएपछि खुल्ला आकासमुखि पढ्न बाध्य भएका विद्यार्थीलाई भूकम्प प्रतिरोधी भवनमा राखेर पढाउने उद्देश्यले १० कोठे दुई तले पक्की भवन निर्माण गर्न थालिएको हो ।
जिल्ला शिक्षा कार्यालय पर्वतको रु ४८ लाख, केयर फर नेपाल नामक संस्थाको रु ४९ लाख, तिनचुली नेपाल संस्थाको रु ३५ लाख र युनिसेफको रु ३५ लाख तथा विद्यालयको रु दुई लाख गरी रु एक करोड ७० लाखको लागतमा पुनःनिर्माणको काम सुरु भएको हो । अहिले भवनको निर्माण कार्य सुरु भएको छ । आगामी एक वर्षभित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गरिएको विद्यालयका प्राचार्य गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
यसबाहेक भूपू विद्यार्थीले भूकम्पपछिको तत्काललाई अस्थायी टहरा निर्माण गर्न तथा फर्निचर व्यवस्थापन र अन्य भौतिक पूर्वाधार निर्माण गर्नका लागि रु ४२ लाख सङ्कलन गरेका छन् । पूर्णरुपमा क्षति भएको विद्यालयमा अहिले अस्थायी टहरा तथा बाँकी रहेका भवनलाई सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गरिएको प्राचार्य शर्माले जानकारी दिनुभयो ।
कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ५५० विद्यार्थी अध्ययनरत रहेका छन् । उच्च माविमा मात्रै ९५ जना विद्यार्थी रहेका छन् । झन्डै छ दशकअघि बनेका भवन जीर्ण र गुणस्तरीय रुपमा निर्माण नगरिएका कारण पनि भत्किएका हुन् ।
पर्वतका झन्डै एक दर्जन विद्यालय भूकम्पबाट पूर्णरुपमा क्षति भएको भए पनि आर्थिक अभावका कारण अन्य विद्यालय भने पुनःनिर्माण तथा मर्मत हुन सकेका छैनन् । अधिकांश विद्यालयका विद्यार्थी अहिले पनि जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य भएका छन् ।