Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – इण्डोनेशियाको पर्यटकीय नगरी बालीमा भएको एनआरएनए एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय समिट ५ बुँदे प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ । समिटमा विभिन्न ५ बुँदे प्रतिवद्धता व्यक्त गरिएका छन् ।

नेपालमा लगानीका सम्भावना, सम्भावित लगानीका क्षेत्रहरु, साझेदार कम्पनीहरुका सम्बन्धमा अध्ययन अनुसन्धान गर्नका लागि एक कार्यदल निर्माण गर्ने, ठूलो मात्रामा नेपालमा भित्रिने रेमिट्यान्सको रकमलाई नेपालको समृद्धिमा टेवा पुरयाउने, रोजगार सृजना गर्ने कार्यमा विस्तृत अध्ययन अनुसन्धान गर्न एक कार्यदल निर्माण गर्ने, गैरआवसीय नेपालीहरुको सामुहिक लगानीका लागि कम्पनी वा भेन्चर क्यापिटल फण्ड निर्माण गरी नेपालभित्र लगानी गर्नका लागि एक कार्यदल गठन गर्ने, आगामी मार्च १९ मा मलेसियामा एसिया प्यासिफिक क्षेत्रिय बैठकको आयोजना गर्ने, साथै २०१७ मा एनआरएनए एसिया फ्यासिफिक कप फुटबल प्रतियोगिताको आयोजना गर्ने लगायतको प्रतिवद्धता व्यक्त गरिएको छ ।
baliसो समिटमा नेपालको बिकासका लागि मुख्य तीन आधारहरु क्रमशः बैंकिङ क्षेत्र, लगानी प्रबर्धन र उद्यमशीलता बिषयहरुमा केन्द्रित रही ज्ञाताहरुसंग छलफल गरिएको थियो ।

जापानबाट उत्साहकजनक सहभागिता रहेको समिटमा यस क्षेत्रका ८ मुलुकका ५० भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

बाली समिटमा क-कसले के के भने ?
बाली समिट्मा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रबैंकका बिदेशी विनिमय प्रमुख डा. भीष्म ढुंगानाले लगानीका लागि नेपालमा अहिले राम्रो अवसर भएको बताए । उनले एनआरएनको कार्यक्रमहरुमा गुनासो धेरै आउने गरेको बताउँदै उक्त गुनासो र गाली चिन्ताको भएको र देश बिकासको आशाको हो भनेर एनआरएनहरुले बुझ्नुपर्ने उनले बताए ।
डा. ढुंगानाले भारतीय रुपैंयाको समस्या समाधानमा ब्यस्त रहनुपरेको कारण देशबाहिर जान नमिलेकोले पूर्वघोषित कार्यक्रमअनुसार राष्ट्रबैंकका गभर्नर डा. चिरिञ्जिवी नेपाल बाली समिटमा आउन नपाएको जानकारी गराउँदै गभर्नर डा. नेपालको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

ब्यवसायी बिनोद अधिकारीले नेपालको समृद्धिको मुल आधार भनेको कृषि, शिक्षा र पर्यटन भएकोले यी क्षेत्रहरुमा लगानी भित्र्याउन आवश्यक रहेको धारणा ब्यक्त गरे ।

एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्टले अब नेपालमा सुरक्षित लगानी र संयुक्त लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा ठोस कदम चाल्न एनआरएनको ध्यान केन्द्रित भएको बताए । अर्का उपाध्यक्ष कुमार पन्तले भवन भट्ट र आफुलाई प्रतिस्पर्धीकारुपमा चित्रित गर्ने गरिएको भन्दै त्यसो नभएर आफुहरु एनआरएन अभियानका असल सहकर्मी भएको बताए । उनले भूकम्पले थलिएको मुलुकको पुनर्स्थापनामा एनआरएनहरुले थप लगानी बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा एनआरएन मलेसियाका अध्यक्ष बिश्व राई, सिंगापुरका अध्यक्ष बिश्वप्रकाश गिरी, नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङलगायतले बोलेका थिए ।

उदघाटन समारोह पश्चात बिभिन्न बिषयमा छुट्टाछुट्टै सेसनहरु भएका थिए । जसअनुसार जापानका ब्यवसायी महेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैंकिङ बिषयक पहिलो सेसनमा प्रस्तोता डा. ढुंगानाले नेपालको बैंकिङ नीति र लगानीका संभावित क्षेत्रहरु बारे प्रकाश पारेका थिए भने जापानबाट भाग लिएका एनआरएन आइसीसीका सदस्य पारसमणि पोखरेलले सहजीकरण गरेका थिए ।

त्यसपछि लगानी बिषयक दोस्रो सेसनमा प्रस्तोता विनोद अधिकारीले शिक्षा बिकासका लागि पहिलो सर्त हुनुपर्ने बताए भने एनआरएन उपाध्यक्ष कुमार पन्तले एनआरएनहरुले आफु रहेको देश र नेपाल दुवैतिर सामुहिक लगानी बढाउनुपर्ने बताए । पन्तको अध्यक्षताका भएको सो सेसनको जापानबाट आइसीसी सदस्य भूषण घिमिरेले सहजीकरण गरेका थिए ।

यसैगरी एनआरएनका अर्का उपाध्यक्ष भवन भट्टको अध्यक्षतामा भएको उद्यमशीलता बिषयक तेस्रो सेसनमा दिपक श्रेष्ठले सामुहिक लगानीको योजना प्रस्तुत गरेका थिए । सो सेसनको एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापाको सहजीकरण रहेको थियो ।***

तपाईको प्रतिक्रिया