काठमाडौँ – रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणसँगै संसारभर नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश प्रवाह भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि नेपालमा शान्ति छ, सुरक्षाको राम्रो प्रबन्ध छ, असुरक्षा छैन भन्ने सन्देश संसारभर गएको छ ।” नेपाल सरकार जुनसुकैस्तरको भ्रमणको शान्ति सुरक्षाको प्रबन्ध गर्न सक्षम रहेको भ्रमणबाट पुष्टि भएको बताउँदै मन्त्री खाँणले भन्नुभयो – “भारतीय राष्ट्रपतिको उच्चस्तरको भ्रमण अत्यन्तै सौहार्दपूर्ण ढङ्गबाट सम्पन्न हुनु भनेको हाम्रा लागि ठूलो महत्वको विषय हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारलाई उचाइमा पु¥याउन ठूलो योगदान दिएको छ ।”
उहाँका अनुसार राष्ट्रपतिको सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । उहाँले भ्रमण सफल तुल्याउन सुरक्षाकर्मीको गतिशीलता, क्षमता र कडा मेहनत रहेको बताउँदै राष्ट्रपति मुखर्जीको सवारी मार्गमा सर्वसाधारणलाई हिँडडुलमा परेको असुविधाप्रति क्षमा माग्नुभयो । एक प्रश्नको जवाफमा रक्षमन्त्री खाँणले संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई सहजताका साथ लिँदै नेपाली सेनाले सङ्घीयतालाई आत्मसात् गरेको बताउँदै भन्नुभयो– “पछिल्लो समय सेना र सुरक्षाफौजका भूमिका समेत बदलिएको छ, विपद् व्यवस्थापन र विकास निर्माणमा पनि सेनाको भूमिका महत्वपूर्ण साबित भएको छ, द्वन्द्वरत मुलुकमा शान्ति स्थापना कार्यमा नेपाली सेनाले देखाएको अनुशासन, व्यावसायिकता र भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले आफ्नो पार्टी उदारवादमा विश्वास गर्ने भएकाले सबैको भावना र चाहनालाई समेटेर अघि बढिरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “थप राजनीतिक सहमतिका साथ संविधान कार्यान्वयन गर्न आवश्यक परिमार्जन र संशोधनका लागि अघि बढाइएको हो । नेपालको संविधानको स्वरुपले नै मिलीजुली सहमतिका आधारमा अघि बढ्नुपर्छ भनेको छ ।