Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

pranab mukherjee 1

काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको निरन्तर प्रगति र विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आज साँझ आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपालको विकासका प्राथमिकता तथा भूकम्पपछिको पुनःनिर्माणमा भारतले सघाउने बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला घोषित सहायता रकम यहाँका विकास–निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
भारत र नेपालबीचको फलदायी सम्बन्धबाट आफू सन्तुष्ट रहेको भन्दै भारतीय राष्ट्रपति मुखर्जीले भन्नुभयो – २००७ सालदेखि नै भारतले नेपालको सामाजिक–आर्थिक विकासमा मद्दत गर्दै आएको छ । उहाँले आर्थिक उन्नयन र दिगो विकासका लागि बाह्य सहायताको अपरिहार्यतामा जोड दिँदै “भारतको सहयोगमा सडक, पुल, सिँचाइ आयोजनालगायत भौतिक पूर्वाधार निर्माणमा साना तथा ठूला आयोजना सञ्चालनमा छन् भन्नुभयो ।” नेपाली समाजका सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति मुखर्जीले त्यसबाटै नेपालको विकासको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको आर्थिक प्रगति, राजनीतिक स्थायित्व र शान्ति भारतको चाहना रहेको र त्यसमा भारतको सदैब साथ रहने उहाँले बताउनुभयो । राष्ट्रपति मुखर्जीले बेलायती उपनिवेशबाट भारतलाई मुक्त गर्न आफ्नो मुलुकका नेताहरुले थालेको आन्दोलनमा नेपालका नेताहरुबाट भएको योगदानको स्मरण गर्दै त्यसलार्ई भारतले उच्च सम्मान गरेको बताउनुभयो ।
भारत र नेपालबीचको ऐतिहासिक एवम् परम्परागत सम्बन्धलाई भारतले उच्च महत्व दिएको र आफ्नो भ्रमणको उद्देश्य पनि दुई देशबीच समझदारी अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउनु हो भन्नुभयो । राष्ट्रपति मुखर्जीले भारत र नेपालबीचको सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत सुदृढ एवम् प्रगाढ रहेको छ भन्नुभयो ।
पवित्र सहर काठमाडौँका जनताबाट न्यानो स्नेह पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपति मुखर्जीले नागरिक अभिनन्दनप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले विगतको तुलनामा काठमाडौँ धेरै परिवर्तन भएको बताउँदै सुन्दर सहर काठमाडौँ राजनीतिक राजधानी मात्र नभई आध्यात्मिक पवित्र शहर पनि हो भन्नुभयो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ महानगरपालिकाको प्रतिकात्मक साँचो हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति मुखर्जीले काठमाडौँ महानगरपालिकाको पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई कार्यकारी प्रमुख तामाङले उपत्यकाको काठको कलात्मक ढोकाको प्रतीक र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया