Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

Pashupatinath

काठमाडौं – पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ ।
यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । “राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ, २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्नुहुनेछ”–उहाँले भन्नुभयो ।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गर्नुभएपछि नेपाल वेद विद्याश्रमका १०८ वटुकले उहाँको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ । गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उहाँको स्वागत गर्नेछन् । राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उहाँको स्वागतमा धिमेबाजा, पञ्चेबाजा लगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने छ । स्थानीयवासीले परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् ।
पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइ लगायत काम भइरहेको छ । विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । मित्र राष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भइरहेको सदस्यसचिव डा टण्डनको भनाइ थियो ।
भ्रमणलाई ध्यानमा राखी पशुपति क्षेत्रमा भइरहेको ढल बिच्छ्याउने एवम् भूकम्पपछिको पुनःनिर्माणलाई पनि थाती राखिएको छ । राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषका तर्फबाट उहाँलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लाग्नुभएको हो ।

तपाईको प्रतिक्रिया