Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – नेपालमा आधुनिक रेडियो प्रविधि भित्र्याउन महत्वपूर्ण योगदान पुर्‍याएका पवनप्रकाश उप्रेतीको निधन भएको छ । १५ दिनअघि अफ्रिकाबाट फर्किएका उप्रेतीको शुक्रबार राति साढे ९ बजे उपचारको क्रममा निधन भएको हो । उहाँलाई मलेरिया भएको आशंका गरिएको छ ।

उहाँसँगै काम गर्ने रेडियो अभियन्ता उपेन्द्र अर्यालका अनुसार बिहीबार उपचारको लागि ओम अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । मलेरियाले संक्रमण गरेको जानकारी ढिलो थाहा भएकाले उपचार पनि ढिलो भएको अर्यालले जानकारी दिनुभयो ।

विराटनगर घर भएका उप्रेतीले रेडियोमा डिजिटल प्रविधि भित्र्याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । एफएम रेडियोको फ्रिक्वेन्सी म्यापिङमा पनि उहाँले काम गर्नुभएको थियो । नेपालका प्रायः सबै एफएम रेडियोको सिग्नल कुन ठाउँमा कस्तो सुनिन्छ भनेर उहाँले तयार पार्नुभएको नक्सालाई महत्वपूर्ण मानिन्छ । एनालग प्रविधिमा प्रसारण हुँदै आएको रेडियोलाई डिजिटल प्रविधिमा लैजान उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।

उज्यालो रेडियोको प्रसारणलाई आधुनिक बनाउने काम पनि उहाँले नै गर्नुभएको हो । झण्डै १२ वर्षअघि उज्यालोको सञ्चालक संस्था कम्युनिकेसन कर्नरबाट उत्पादन हुने समाचार तथा कार्यक्रमलाई स्याटेलाइट प्रविधिमार्फत प्रसारण गर्ने काम उहाँबाट भएको हो । त्योबेलासम्म समाचार कागजमा लेख्ने र कार्यक्रम टेपमा रेकर्ड गर्ने काम हुन्थ्यो । उहाँले उज्यालोको स्टुडियोलाई डिजिटलमा रुपान्तरण गर्दै सबै काम कम्प्युटरबाट गर्ने प्रविधि थालनी गर्नुभएको हो ।

पालमा रेडियो प्रसारणलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उहाँको काम देखेर विदेशी समेत छक्क पर्थे । नेपालका धेरै रेडियोकर्मीले उहाँबाटै डिजिटल प्रविधिको ज्ञान लिएका छन् । रेडियो सगरमाथा र इक्वेल एक्सेसमा समेत काम गरेका उप्रेतीले धेरै एफएम रेडियो स्टेशनको प्रसारणलाई डिजिटल प्रविधिमा लैजान सहयोग गर्नुभएको थियो । उहाँ निकै मिलनसार र सहयोगी समेत हुनुहुन्थ्यो । उहाँको आकस्मिक निधन भएको खबर सुनेर रेडियोकर्मीहरु दुखित भएका छन् । उप्रेतीप्रति उज्यालो परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

तपाईको प्रतिक्रिया