Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

thailand-king-bhumibol-adylya-58003cbcb5aba8-77562980काठमाडौं – थाइल्याण्डका ८८ वर्षीय राजा भूमिबोल अदुल्यादेजको निधन भएको छ । उनको निधनमा एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भएपछि थाइल्यान्ड सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको हो ।

लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उनको निधनपछि संकटमा पर्न सक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।

थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त थिए ।
उनको थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उनलाई उक्त अस्पतालमा राखिएको थियो । उनको निधनको समाचार थाइल्याण्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोता मार्फत घोषणा गरिएको थियो ।

थाई राजा भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उनीप्रति जनताको प्रगाढ माया रहेको कतिपय बताउँछन् ।
राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहेका राजाको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।

दिवंगत राजा भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्ने जानकारी दरबार स्रोतले जानकारी दिएको छ ।

सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हालेका थिए ।प्रजातान्त्रिक शासनद्वारा थाइल्याण्डको प्रगति देख्ने दिवंगत राजाले देश संकटमा पुगेका बेला सन् १९७३, १९९२ मा आफ्नो महत्वपूर्ण भूमिकामार्फत देशलाई एकताबद्ध गर्दै अघि बढेका थिए ।

दिवंगत राजा भूमिबोलको जस्तै नेतृत्व पाउन नसकेमा पटकपटक सत्तामा पुगे पनि उनको अगाडि राजनीतिक कौशलता प्रदर्शन गर्न नसकेका कारण सत्ता बाहिर रहन पुगेका दल तथा नेताहरुबीचको द्वन्द्वका कारण कतै थाइल्याण्डले राजनीतिक अनिश्चितताको सामना गर्नुपर्ने त होइन भन्ने विचार शोकाकुल नागरिकको चिन्ताको विषय बनेको छ । रासस

तपाईको प्रतिक्रिया