Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

धनगढी  – नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट हराएको हतियार शुक्रबार बिहान फेला परेको छ । दिपायल सिलगढी नगरपालिकामा पर्ने वनमा गोलीसहित प्लाष्टिकमा बेरेर राखेको अवस्थामा हतियार फेला परेको हो ।

नेपाली सेनाको गरुड दल गणको जिम्मामा रहेको सर्ट मेसिन गन (एसएमजी) र त्यसको २ सय ८८ थान गोली गएको साउन २१ गते हराएको थियो । शुक्रबार बिहान सेनाले यसअघि पनि जाँच गरिसकेकै स्थानमा हतियार फेला परेको सैनिक स्रोतले जनाएको छ ।

नेपाली सेनाले तालिम गर्ने राजपुर नजिकैको वन क्षेत्रमा सेतो पोलिथिनमा ढुंगामुनी लुकाइराखेको अवस्थामा हतियार फेला परेको स्रोतले जनाएको छ । तर नेपाली सेनाको सुदूरपश्चिम पृतनाले भने यसलाई अझै पुष्टि गरेको छैन ।

हराएको हतियारको खोज तथा अनुसन्धानका लागि असोज ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको एक टोली पनि दिपायल बोलाइएको थियो । नेपाली सेनाको आग्रहमा एकजना एसएसपी र दुई जना डिएसपी सहितको सिआइबीको टोलीले पनि हतियार हराएको बारे अनुसन्धान गरिरहेको थियो ।

हतियार हराएपछि नेपाली सेनाले सैनिक जवानहरुलाई मानसिक र शारिरिक यातना दिएका चर्चाहरु पनि बाहिर आएका थिए । त्यसपछि भदौ २२ गते पृतना पुगेको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीलाई पनि हिरासतमा राखिएका सैनिक जवानहरुसँग भेटघाट गर्न नदिएपछि सेनाको आलोचना समेत भएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका मानवअधिकार अधिकृत पवनकुमार भट्ट नेतृत्वको टोली भदौ २२ गतेदेखि २४ गतेसम्म दिपायलमै बसेपनि टोलीलाई यातना दिइएका भनिएका जवानहरुसँग भेटघाट गर्न नदिइएपछि टोली फर्केको थियो ।

नेपाली सेनाले हतियार र गोलीहरु हराएको घटना सत्य भएको बाहेक यस घटनामा अरु कुनै कुरा पनि सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया