Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

चितवन – नेपालीको पर्व बडा दसैँ र तिहारलाई लक्षित गरी राजधानी बाहिरिने यात्रुलाई सहज बनाउन नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध नहुने गरी विस्तारकार्य अगाडि बढाइने भएको छ ।

भित्तो काट्दा बेलाबेलामा सडक दुई तर्फी र एकतर्फी रुपमा बन्द गरेर काम गरिँदै आएको छ । चाडबाडमा ठूलो सङ्ख्यामा राजधानीबाट यात्रु बाहिरिने हुँदा उनीहरुलाई लक्षित गरी विस्तार कार्यलाई भन्दा आवागमनलाई प्राथमिकता दिन लागिएको हो । असोज ११ गतेबाट सडक अवरुद्ध हुने गरी विस्तारकार्य नगरिने भएको छ । सडक विस्तारको २७ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि नाकाबन्दी र यस वर्ष बढी वर्षा भएसँगै काममा ढिलाइ भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।

निर्माणको जिम्मा पाएका कम्पनीले असोज– ८ गतेभित्र सडकमा भएका सबै खाल्डा पुर्ने र १० गतेभित्र सडक ग्रेडिङ गरिसक्ने बताएका छन् । भूइँमा ठूलाठूला खाल्डा भएका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ । पानी पर्दा र सुख्खा हुँदा दुबै समय पहिरो खस्ने समस्या देखिँदै आएको छ । पहिरो खसे तत्काल हटाउनका लागि दसैँको अवधिमा पाँचवटा लोडर, ६ वटा टिपर र तीनवटा ट्याक्टर चालु अवस्थामा राखेर दोहोरो गाडी सञ्चालन गरिने नारायणगढ – मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो ।

सडक अवरुद्ध नहुने गरी कामलाई भने निरन्तरता दिने यादवले बताउनुभयो । ठेक्का दिँदा विस २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्य अनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको थियो । २०७२ सालको वैशाखबाट निर्माणकार्य थालिएको हो ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवे अन्तर्गतको ‘ए एच’ ४ टु खण्ड अन्तर्गत नारायणगढ– मुग्लिन सडकखण्ड पर्दछ ।

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन– नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ । सो सडक हुँदै दैनिक आठदेखि ९ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया