अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी पूरक बजेटको विषयमा छलफल जारी रहेको र आउन सक्ने बताउनुभयो । बजेटसँग जोडिएका राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई व्यवस्थापिका–संसद्बाट छिट्टै पारित गर्ने तयारीमा सरकार रहेको मन्त्री महराको भनाइ थियो ।
‘‘बजेटसँग आश्रित विधेयकलाई छिटो पारित गराउने सोचमा सरकार छ । आवश्यक प्रक्रिया सुरु गरिएको छ । केही दिनभित्रै पारित हुन्छ,’’ उहाँले भन्नुभयो । यस्तै व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन विधेयक पारित गरेको जानकारी दिँदै उहाँले निक्षेप सुरक्षण कोष र कर्जा सुरक्षण कोषको व्यवस्था गरी निक्षेप सुरक्षण दाबी तथा शोध भर्ना प्रक्रिया निश्चित गर्दै निक्षेपकर्ताको निक्षेप र कर्जा सुरक्षण गर्न निक्षेक्ष तथा कर्जा सुरक्षण कोषको व्यवस्था र सञ्चालनसम्बन्धी विधेयक पारित गरिएको जानकारी दिनुभयो ।
त्यस्तै कर्मचारी सञ्चयकोष ऐन, २०१९ को नवाैँ संशोधन, लेखा परीक्षण विधेयक २०४८ को पहिलो संशोधन गरिएको छ । भूकम्पपछिको पुनःनिर्माण र दाताहरुसँग सहयोग लिने कार्यविधि संशोधन गर्ने तयारीमा मन्त्रालय रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा केही महत्वपूर्ण सम्झौता हुने उहाँले जानकारी दिनुभयो । विकास निर्माणका योजना समयमा सम्पन्न गर्न र पूँजीगत खर्च वृद्धि गर्न सहजीकरण भइरहेको र व्यवस्थापिका–संसद्को ओएन्डएम सर्भेलाई स्वीकृत गरिएको तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री महराले बताउनुभयो ।
त्यसैगरी बजेट तर्जुमा दिग्दर्शन सञ्चालन निर्देशिकालाई समसामयिक संशोधनका लागि चारवटा कार्यदल बनाएर काम सुरु गरिएको छ । राजस्व सङ्कलन लक्ष्यअनुसार नै भएको र पछिल्लो दिनमा वैदेशिक सहायतामा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री महराका अनुसार केही दिनअघि जापानले रु एक अर्ब ९१ करोड र बेलायतले रु दश अर्ब दश करोड सहयोग उपलब्ध गराएको थियो ।