काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समय माग गर्दै समसामयिक विषयमा छलफल गर्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद भरत खड्काले स्थानीय तहको पुनःसंरचनाको विषय संवेदनशील विषय हो भन्दै यससम्बन्धी आयोगले हिमाल, पहाड र तराईको भौगोलिक अवस्थालाई बेवास्ता गरी निर्धारण गरेको सङ्ख्या अवैज्ञानिक र अव्यहारिक छ भन्नुभयो ।
यस विषयलाई हल्का ढङ्गले लिन नहुनेमा जोड दिँदै उहाँले यो राजनीतिक विषय पनि भएकाले राजनीतिक सहमतिका आधारमा भूगोल र जनसङ्ख्यालाई आधार मानेर हाल कायम ९२७ इलाकाको सेरोफेरोमा स्थानीय तह निर्धारण गर्दा व्यवहारिक हुने धारणा राख्नुभयो ।
सांसद अमनलाल मोदीले सार्वजनिक यातायातमा ज्यादै दुःखद र दर्दनाक अवस्था रहेको बताउँदै सडकको अवस्था खराब भएकाले छोटो दुरीको सडकमा पनि लामो समय लाग्ने गरेको गुनासो गर्नुभयो । उहाँले सडक निर्माण र विस्तारको काम सुस्त भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने माग गर्नुभयो । सडक सुधारमा सरकार गम्भीर नभएको उहाँको आरोप थियो ।
सांसद सुशीलकुमार श्रेष्ठले छोराको हत्यापछि न्यायको माग गर्दै नन्दप्रसाद र गङ्गामाया अधिकारी दम्पत्ति लामो समय अनशन बसेपनि सुनुवाइ नभएकोमा आपत्ति जनाउनुभयो । अनशन बसेकाले संविधानअनुसार न्याय नपाएको गुनासो गर्दै उहाँले प्रजातान्त्रिक मुलुकमा अनशनमा बसेकाले न्याय नपाएर निधन हुनु दुर्भाग्य भएको बताउनुभयो ।
सांसद अनुराधा थापामगरले भारतले सिमानामा अतिक्रमण गरेको र सीमास्तम्भ नेपाल तर्फ सारेको भएपनि सरकारले बेवास्ता गरेको टिप्पणी गर्दै दू्रतमार्ग सरकारले आफ्नै लगानीमा निर्माण गर्ने तय भएको, तर पुनः भारतीय कम्पनीलाई दिने काम हुनथालेको कामप्रति आपत्ति जनाउनुभयो ।
सांसद डा डिम्पलकुमारी झाले दुर्घटनाका बारेमा ध्यानाकर्षण गराउँदै घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सांसदले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको गुनासो गर्नुभयो ।
सांसद रश्मी ठाकुरले दुर्घटना बढ्दै गएको कारणका बारेमा प्रश्न गर्दै यसको जिम्मेवार कसले लिने भनी प्रश्न गर्नुभयो । दुर्घटनामा घाइतेको उपचार र मृतकलाई क्षतिको माग गर्दै उहाँले जनताले कर तिरेपनि सडक राम्रो बनाउन नसकेको धारणा राख्नुभयो ।