टोकियो – आज जापानमा फेरि अर्को एक जना नेपालीको उच्च रक्तचापबाट निधन भएको छ ।
आफ्नै रेष्टुरेन्टमा काम गरिरहेको बेला आज अपरान्ह ३ बजेतिर अचानक ढल्न पुगेका चितवनका डम्मरबहादुर निउरेको एम्बुलेन्स बोलाई अस्पताल लैजादैं गर्दा बाटैमा निधन भएको स्रोतले बतायो ।
ताचीकावा नजिकै पर्ने मुसासी सिनागावा भन्ने ठाउँमा रेष्टुरेन्ट ब्यवसाय गर्दै आएका निउरेको उच्च रक्तचाप (ब्रेन ह्यामरेज) का कारण मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । बिगत १० वर्षदेखि जापानमा रहेका ५३ वर्षिय निउरेका ३ भाइ छोराहरु र श्रीमती पनि जापानमै छन् । स्व. निउरेको शव मंगलबार नेपाल पठाईने भएको छ । निउरे बागलुङ हटियाबाट बसाई सराई गरी चितवन झरेका हुन ।
एकजना विद्यार्थी रमेश तामाङको उच्च रक्तचापबाट एक हप्ता अगाडि निधन भई हिजो मात्र शव नेपाल पठाएको घटना सेलाउन नपाउँदै अर्को घटनाले जापानबासी नेपालीहरुलाई सतब्ध तुल्याएको छ । ***