शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ –दिगो विकासका लागि समुदायको साझेदारका रूपमा रही दक्षिण एसियाका सामुदायिक रेडियोले खेलेको भूमिका र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले मङ्गलबारदेखि ‘दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन’ सुरु हुने भएको छ ।

ACORAB-logo-445x300

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालले आयोजना गरेको सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । ‘दिगो विकासका लागि सामुदायिक रेडियो’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का लगायत देशबाट करिब १०० रेडियोकर्मी र विज्ञको सहभागिता रहनेछ ।

नेपाल र विश्वका विभिन्न क्षेत्रबाट विशेषज्ञको समेत सहभागिता रहेको सम्मेलनमा विपद् र अप्ठ्यारामा सामुदायिक रेडियो, विकासमा सामुदायिक रेडियोको भूमिका लगायत आधा दर्जनभन्दा बढी समुदाय र विकासका विषयमा विशेष छलफल हुने अकोराब नेपालका अध्यक्ष मोहन चापागाईंले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो

सम्मेलनले दक्षिण एसियाका रेडियोकर्मीका लागि साझा अवधारणा, रणनीति र प्रतिबद्धतासहितको काठमाडौँ घोषणापत्र समेत जारी गर्नेछ । अकोराब नेपाल, नेपालका २९२ सामुदायिक रेडियोको छाता सङ्गठन हो । पेसागत हैसियतमा स्थापित अकोराबले विश्वका सामुदायिक रेडियो आन्दोलनको समेत अगुवाइ गर्दै आएको छ ।

पछिल्लो पटक राष्ट्रिय आमसञ्चार नीति– २०७३ ले सामुदायिक रेडियोलाई नीतिगत रूपमा मान्यता दिएको छ । हाल देशभर सूचना तथा सञ्चार मन्त्रालयबाट सामुदायिक रेडियोको अनुमतिप्राप्त करिब ४०० रेडियो छन् । तीमध्ये ३०० वटा सञ्चालनमा रहेको बताइन्छ । नेपालको प्रसारण इतिहासमै २००७ मा ‘रेडियो नेपाल’ को स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ले २०५४ मा सञ्चालनको अनुमति पाएको थियो ।

तपाईको प्रतिक्रिया