बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौँ – चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत खर्चको २२ प्रतिशत मात्र खर्च भएकाले मुलुकको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।

शनिवार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वक्ताले अर्थतन्त्रलाई गतिशील बनाउन पुँजीगत खर्चलाई योजनाबद्ध रूपमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो । अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेलले राष्ट्रको स्रोत तथा साधन र क्षमताका आधारमा मात्र बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै पुँजीगत खर्च उपभोग हुन नसकेको अवस्थामा बजेटमा नदेखिने गरी रकम खर्च भइरहने तर त्यसको प्रतिफल नआउने समस्या औँल्याउनुभयो ।

अर्थ राज्यमन्त्री दामोदर भण्डारीले राष्ट्रिय आयको अनुमान र स्रोत पहिचान गरी ल्याइएको बजेटले देश विकासका लागि पुँजी निर्माण र अर्थतन्त्रलाई चलायमान बनाउन आधार दिएको बताउनुभयो । उहाँले बजेटमा रहेका केही चुनौतीलाई भोलिदेखि संसद्मा हुने दफावार छलफलबाट आएका सुझावका आधारमा कार्यान्वयन गराइने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले आगामी बजेटले पुनःनिर्माण र ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखी खर्च बढाएको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया