टोकियो-एनआरएन जापानले ५ करोडको आपतकालीन राहत कोष व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा आज पत्रकार सम्मेलनको आयोजना गरी कोष व्यवस्थापन तथा संचालनको प्रारम्भिक योजना सार्वजनिक गरेको छ । आन्तरिक कोषको श्रोत अर्न्तगत आईसिसि केन्द्रीय उपाध्यक्षबाट १० मान येन, एसिया प्यासिफिस संयोजकबाट ५ मान येन, उप-संयोजकबाट १ मान येन, संरक्षकबाट २ मान येन, कार्यसमितिका सदस्यहरुबाट जनही २/२ मान येन, क्षेत्रीय कमिटीका सदस्यहरुबाट जनही १/१ मान येन संकलन गर्ने लक्ष्य राखिएको योजना सार्वजनिक गरेको छ । एनआरएन जापानको आपतकालीन राहत काेषमा सदस्यता वितरण गरी प्रत्येक सदस्यहरूबाट १ हजार येनको दरले सदस्यता शुल्क संकलन गर्ने योजना पनि रहेको कार्यक्रममा बताइएको थियो । त्यसैगरी जापानमा रहेका नेपाली रेष्टुरेन्टहरुबाट पनि १/१ मानको दरले कोष संकलन गर्ने योजना रहेको कुरा एनआरएन जापानका अध्यक्ष सुदन थापाले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
त्यसैगरी जापानमा रहेका संघसंस्थाहरुबाट पनि सहयोग रकम संकलन गर्ने योजना रहेको बताईएको छ । संस्थालाई दुर्इ वर्गमा विभाजन गरी ५ मान र १० मानको दरले रकम संकलन गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । कोष वढोत्तरीको लागि एनआरएन, जापानले वाहृय स्रोतको पनि खाेजी गर्ने बताइएको छ । कार्यक्रममा महजात्राबाट संकलित रकम ४ सय ३० मान संकलन भएको र आगामी विभिन्न कार्यक्रमहरुको आयोजना गरी कोष संकलन गर्ने लक्ष्य रहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । कोष संकलनको लागि नेपाल फेस्टिवल गर्ने योजना रहेको, तीज फेस्टिबल गर्नको लागि कार्यसमिति गठन गरी जिम्मा दिईसकिएको, अन्य च्यारिटी तथा सांगीतिक कार्यक्रमहरू गर्ने लक्ष्य रहेको बताइएको थियो । राहतकोष संकलन गर्नको लागि लक्ष्य राखिएको कार्यक्रम विविध कारणले सम्पन्न गर्न असम्भव भएमा वैकल्पिक श्रोतको व्यवस्था पनि गरिने बताईएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा संस्थाले ५ करोडको अापतकालीन राहत कोष व्यवस्थापन तथा संचालन गर्नको लागि अनुमानित समितिको खाका पनि सार्वजनिक गरेको थियो । जसमा नेपाली दूतावास, आईसीसी उपाध्यक्ष र एसिया प्यासिफिक संयोजक रहने संरक्षक समिति, एनआरएन जापानका अध्यक्ष संयोजक रहेको एनआरएनका कार्यसमिति, सल्लाहकारहरु, क्षेत्रीय कमिटी संयोजकहरु र संघ संस्थाका अध्यक्षहरु रहेको समिति रहने कुरा बताइएको छ । त्यसैगरी प्राविधिक समितिमा अध्यक्ष सुदन थापा, टासी वाङदे लामा, टंक गैरे, देवीलाल भण्डारी, जिज्ञान कुमार थापा, डा. विजय ज्ञवाली, सोनाम शेर्पा र सम्बन्धित क्षेत्रीय संयोजकहरु रहनेछन् । त्यसैगरी कोष व्यवस्थापन तथा संचालनको लागि एक सल्लाहकार समिति पनि रहने बताएको छ । जसमा एसिया प्यासिफिक उप-संयोजक, आईसीसी सदस्यहरु, एनआरएन जापानका संरक्षकहरु र एनआरएन जापानका पूर्व अध्यक्षहरु रहनेछन् । एनआरएन जापानले कोषको प्रयोग विधिको ढाँचा पनि सार्वजनिक गरेको छ । जसमा कोष एनआरएन जापानको मातहतमा रहने जनाईएको छ । कुनै पनि कार्यमा कोषको रकम खर्च भएपछि ३ महिनाभित्र अन्य श्रोत र साधनबाट सोधभर्ना गर्नुपर्ने प्रावधान सार्वजनिक गरेको छ । एनआरएन राहतकोषको सदस्यहरुको रुपमा दर्ज भएका रेष्टुरेन्ट (सदस्य) हरुलाई आगलागी भएको प्रमाणित भएमा ३० देखि १०० मान सम्म सहयोग गरिने बताईएको छ । अापतकालीन राहत कोषका सदस्यहरु विरामी परेकाे खण्डमा अस्पताल भर्ना भई १ महिनाभन्दा बढी बस्नुपरेमा ३० मानसम्म र अप्रेशन नगरी अस्पताल भर्ना भई १ महिनासम्म अस्पताल बस्नुपरेमा १० मानसम्म सहयोग गरिने योजना सार्वजनिक गरिएको छ । त्यसो त सदस्य नभएको व्यक्तिको हकमा भने अवस्था अनुसार सहयोग गरिने बताइएको छ । राहतकोषको सदस्यको मृत्युभएमा दाहसंस्कार खर्च १५ मान सहयोग गर्ने बताइएको छ । आपतकालीन राहत कोषको सदस्यता लिईदिनको लागि पनि एनआरएन जापानका अध्यक्ष सुदन थापाले अनुरोध गर्नुभएको छ । व्यवस्थापन र संचालन विषयमा उपस्थित पत्रकारहरुले जिज्ञासा तथा प्रश्नहरू राखेका थिए ।
त्यसैगरी भोलि २९ तारिक हुन गइरहेको ‘धन्यवाद जापान’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको र आफूलाइ पायक पर्ने स्थानमा उपस्थित भइ सहयोग गरिदिन जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई अध्यक्ष थापाले अनुरोध गर्नुभएको छ ।
त्यसैगरी अागामी जून महिनाको ४ र ५ तारिक कुमामोतो क्षेत्रमा भोलेन्टियर भई सहयोग गर्न जान चाहनेहरूले (अावश्यक संख्या १० जना) आगामी महिनाको २ तारिक भित्र प्रल्हाद सिंह महतलाई सम्पर्क गर्न पनि भनिएको छ । भूकम्प पीडितहरूको लागि नेपाली योगा प्रशिक्षकबाट योगा गराउने लगायत अन्य सहयोग गर्नको लागि भोलेन्टियरहरू खटाउने योजना रहेको जानकारी जिज्ञान कुमार थापाले कार्यक्रममा बताउनुभयो ।
सुदन थापाको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन संस्थाका सचिव वुद्धिराज घिमिरेले गर्नुभएको थियो ।***