धेरै त कहाँ भएको छ र ? सन् २००७ सम्म शिनओकुबो एरियामा कतै नेपाली भेटिईहाल्यो भने नौलो कुरो हुन्थ्यो, अझ भन्नुपर्दा मान्छेहरु जिब्रो काढ्थे । फलानो त शिनओकुबोमा पो डुल्दैथियो भनेर खिसीट्युरीको बिषय बन्थ्यो । किन कि यो एरियामा बाटाभरि मसाजका ग्राहक तान्न बसेका बिदेशी युवतीहरु देखिन्थे । मसाजको नाममा अरु नै धन्दा गर्ने भएर होला शायद मान्छेहरु शिनओकुबोलाई फरक दृष्टिकोणले हेर्थे । उसो त अहिले पनि त्यस्ता युवतीहरु शिनओकुबोमा देखिन्छन् तर धेरै कम मात्र । तर पचिसकेकोले होला त्यस्ता कुरामा अहिले कसैलाई मतलव गर्ने फुर्सद नै छैन ।
कसरी बन्यो त शिनओकुबो ’नेपाली जक्शन’ ?
सन् २००८ सम्म शिनओकुबोमा पाकिस्तानी, बंगाली र भारतीयहरुको हालीमुहाली थियो । उनीहरुका ५, ६ वटा हलालफुड त्यतिबेलै सञ्चालनमा थिए । अहिले त सबै गरेर हलालफुड मात्रै १३, १४ वटा भईसकेका छन् । शिनओकुबो स्टेशनको दायाँ पूर्वतर्फ भने त्यतिबेलैदेखि कोरियनहरुको बोलबाला थियो जुन अहिले पनि कायमै छ तर घट्दो क्रममा छ । सन् २००८ को जुलाईमा पत्रकार भूषण घिमिरेले शिनओकुबोमा बाराही हलाल फुड खोलेपछि नेपालीहरुका लागि अत्यावश्यकीय दैनिक उपभोग्य सामान किनमेल गर्ने र भेटघाट गर्ने संगम स्थल बन्न थाल्यो । त्यतिमात्र हैन एनआरएन जापानको अघोषित कार्यालयकैरुपमा मिटिङ तथा कार्यसम्पादन बाराहीबाटै हुन थाल्यो । सोही वर्षको अक्टुबरमा आशाकुशामा रहेको नेपाली समाचार र समुद्रपारिको कार्यालय पनि शिनओकुबोमै सरेपछि नेपालीहरुको चहलपहल अझ बढ्न थाल्यो । समाचार तथा बिज्ञापन छपाउने, पत्रिकाको ग्राहक बन्ने, बिभिन्न कार्यक्रमहरुको आयोजना बारे छलफल गर्ने जस्ता कामका लागि नेपालीहरु टाढा टाढाबाट पत्रिकाको कार्यालयमा आउने गर्दथे । सामाजिक तथा ब्यवसायिक प्रयोजनका लागि शिनओकुबोमा नेपालीहरुको भेटघाट, मिटिङ र चहलपहल अप्रत्याशितरुपमा बढ्न थाल्यो । कफि शपमा बसेर गर्नुपर्ने खर्चिलो मिटिङबाट पाठ सिक्दै टिपिकल नेपाली खाजा खान पाईने खाजाघरको अवधारणाअनुसार नेपाली समाचार र समुद्रपारि टिमले सन् २००९ को डिसेम्बरमा शिनओकुबोमा १८ सिटको सानो नेपाली खाजाघर मः मः सञ्चालनमा ल्यायो । अन्त कतै नपाईने स्वादिष्ट मः मः, सेलरोटी, खीर, जेरी, पुरी, चना, मासुचिउरा, भटमास साँधेको जस्ता नेपाली तथा नेवारी खाजाका परिकारहरु भएको मेनु बनाई सुरु गरिएको खाजाघरले राम्रो बजार लियो । अत्यन्त सामान्य तर नेपाली पाराको अपनत्व झल्किने खाजाघरको लोकप्रियता बढेसंगै खाजाघरसंगै भञ्ज्याङ् दोहोरी साँझ पनि सुरु भयो । जापानमा रहेका लोकभाका र दोहोरीका पारखीहरुलाई लक्षित गरी सुरु गरिएको दोहोरी साँझले पनि राम्रै ब्यापार गर्यो । नेपालबाट गायिका मञ्जु पौडेललाई जापान बोलाई परिक्षणकारुपमा सुरु गरिएको दोहोरी साँझ ६ महिनासम्म अत्यन्त उत्साहबर्द्धक ढंगले चल्यो । गायिका पौडेल नेपाल फर्कने र अन्य कलाकारहरु बोलाउने तैयारी भईरहेकै बेलामा नेपालीहरुको अर्को समुहद्वारा गोतान्दा नजिकैको तोगोसी गिञ्जामा अर्को दोहोरी सुरु भयो । नेपालीहरुको सानो कम्युनिटीमा नजिक नजिकमा दुई दुईवटा दोहोरी चल्न नसक्ने आंकलन गर्दै शिनओकुबोमा चल्दै आएको भञ्ज्याङ दोहोरी स्थगित गरियो । तर तोगोसीगिञ्जामा सुरु गरिएको दोहोरी पनि विविध कारणवश लामो समय चल्न सकेन । नेपालीले नेपालीको ब्यवसाय ठाउँको ठाउँ कपी गरेर न आफुले गर्ने, न अरुलाई गरेर खान दिने नेपाली सँस्कारको एउटा तीतो तर गतिलो उदाहरण थियो त्यो ।
यता शिनओकुबोमा दिनानुदिन नेपालीहरुको बढ्दो चहलपहलसंगै सन् २००८-९ तिरबाटै बिद्यार्थीहरुको रस्तीबस्ती बढ्न थालेको थियो । अन्यत्रबाट धमाधम शिनओकुबोमा कोठा सर्ने क्रम अहिले पनि जारी छ । यसरी अन्यत्रबाट शिनओकुबो, ताकादानोबाबा र आसपासका क्षेत्र बसोबासका लागि नेपालीहरुको रोजाई बन्न पुग्यो । जसले गर्दा टोकियोका २३ वार्डमध्य सबैभन्दा धेरै नेपाली बस्ने सिन्जुकु वार्ड बन्न पुगेको छ । तर पछिल्ला समयमा भने नेपालीहरुलाई सजिलै कोठा दिन अब यस क्षेत्रका घरबेटीहरु तयार देखिदैनन् । कारण नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै उनीहरुले गुमाउदै गएको बिश्वसनियता नै प्रमुख हो ।
लामो समयदेखि एजेण्टहरुमार्फत हुण्डीको कारोबारबाट नेपाल पैसा पठाउँदै आएका नेपालीहरुका लागि बैधानिकरुपमा नेपाल पैसा पठाउन सकिने सेवा ब्राजिलियन बैंक इटाउसंग सहकार्य गरेर सिटी एक्सप्रेसले २००८ मा पहिलोचोटी सुरु गरेको हो । पछि सन् २०१२ मा एसबीआई बैंकसंग सहकार्य गरेर सिटी एक्सप्रेसले आफै इजाजत लिई शिनओकुबोमै प्रधान कार्यालय राखेर रेमिट्यान्स सेवा गर्दै आईरहेको छ । गत वर्षदेखि सिटीले शिनओकुबोमै अर्को पनि काउन्टर स्थापना गरेर आफ्नो ब्यवसायलाई बिस्तार गरेको छ । उसो त सिटी एक्सप्रेस भन्दा अगावै आईएमईसंगको सहकार्यमा क्योदाई रेमिट्यान्सले शिनओकुबोमै आफ्नो प्रधान कार्यालय राखेर अन्य मुलुकहरु लगायत नेपालमा पैसा पठाउने रेमिट्यान्स सेवा सन् २०१० को अक्टुबरबाटै सुरु गरिसकेको थियो । क्योदाईले सन् २०१४ को जनवरीदेखि शिनओकुबोमै अर्को पनि काउन्टर राखेर रेमिट्यान्स सेवा प्रवाह गर्दै आईरहेको छ । यसरी एकपछि अर्को गर्दै रेमिट्यान्स ब्यवसायीहरुको पनि शिनओकुबोमा ध्यान केन्द्रित हुन थाल्यो । जसअनुसार सन् २०१२ को अन्ततिर प्रभु बैंकसंगको सहकार्यमा जेआरएफले पनि लगत्तै शिनओकुबोमा रेमिट्यान्स कारोबार सुरु गर्यो । त्यसपछि संसारा रेमिट्यान्सले पनि गत वर्षदेखि शिनओकुबोमै कार्यालय राखेर आफ्नो कारोबार सुरु गर्दै आईरहेको छ ।
उसो त ओकुबोमा इण्डियन नेपाली रेष्टुरेन्ट मिलन र केबी किचन २००५ तिरबाटै सञ्चालनमा थिए । यद्यपि नेपाली ग्राहक उनीहरुको टार्गेटमा थिएनन् । अहिले पनि उनीहरुको लक्षित ग्राहक जापानीहरु नै छन् । मिलन र केबी किचन पछि शिनओकुबो एरियामा नेपाली तथा इण्डियन रेष्टुरेन्टहरुमा अर्जुन र शिखर अरुभन्दा पुराना हुन् । तर शिखर रेष्टुरेन्ट भने हाल बन्द भईसकेको छ । त्यसयता शिनओकुबोमा एकपछि अर्को गर्दै नेपाली रेष्टुरेन्टहरु धमाधम थपिएका हुन् । जसअनुसार हट चिल्ली, स्वल्टी र चौतारी लगभग एकैसमयमा खुलेका हुन् भने लगत्तै सोलमारी, नाङ्लो र मः मः ओकुबो शाखा थपिए । त्यसपछि थकाली भान्साघर मुस्ताङ, टोकियो रोधी क्लव (दोहोरी रेष्टुरेन्ट), रातोभाले (नेपाली रेष्टुरेन्ट), रक साल्ट (जापानी इजागाया) बार काडे(डान्स बार), नेपाली चुल्हो (नेपाली रेष्टुरेन्ट), साकुरा (जापानी इजागाया) पछिल्ला समयमा खुलेका नेपालीका ब्यवसाय हुन् ।
खासगरी रेष्टुरेन्ट ब्यवसायी र रेमिट्यान्स ब्यवसायीहरुका लागि मात्र आकर्षणको केन्द्र बनेको शिनओकुबोमा बिस्तारै रियल स्टेट (फुदो सान), ट्राभल एजेन्सी, डिजाईन तथा प्रिन्टिङ, हलाल फुड, तरकारी पसल जस्ता ब्यवसायहरु पनि धमाधम थपिएका हुन् । जसअनुसार ग्लोबल होम नेट वर्क (फुदो सान) र सनशाइन (फुदो सान) नेपाली ग्राहक लक्षित शिनओकुबोमै कार्यालय रहेका फुदो सान हुन् । यसैगरी डिजाईन तथा प्रिन्टिङ सम्बन्धि काम गर्ने उद्देश्यका साथ शिनओकुबोमै कार्यालय स्थापना गरेर नयाँ कम्पनी शिन्काले पनि काम सुरु गरिसकेको छ भने लामो समयदेखि डिजाईन तथा प्रिन्टिङ सम्बन्धि काम गर्दै आएको एबिज ग्रुपले पनि यसै महिनादेखि शिनओकुबोमा कार्यालय सारेर आफ्नो कार्यसम्पादन सुरु गरिसकेको छ । यसैगरी सिन्जुकुमा अफिस रहेको स्थापित कम्पनी टिबिआई ग्रुपको बिबि होलिडेज ट्राभल पनि हालै शिनओकुबोमा सरेको छ भने खाचुसिका कु मा हेडअफिस रहेको आईटी भेञ्चरले पनि शिनओकुबोमा शाखा कार्यालय बिस्तार गरेको छ । उता मेगुरोमा हेड अफिस रहेको जेएमई रेमिट्यान्सले पनि यसै महिनादेखि शिनओकुबोमा शाखा कार्यालय बिस्तार गरी कारोवार सुरु गरिसकेको छ । यसबाहेक शिनओकुबोमा छिट्टै एउटा गजल साँझ पनि सुरु हुन गईरहेको छ ।
के छ शिनओकुबोमा त्यस्तो आकर्षण ?
राजधानी टोकियोको डाउनटाउन एरिया अर्थात केन्द्रभागलाई फन्को लगाउने जापान रेल्वे (जेआर) यामानोते लाईनको २९ वटा स्टेशन मध्यको एक स्टेशन हो शिनओकुबो । वास्तवमै भन्ने हो भने शिनओकुबो बत्तिमुनिको अध्याँरो बस्ती हो । राजधानी टोकियोको पनि राजधानी मानिने सिन्जुकुको काखैमा रहेको शिनओकुबोमा एटीएम बाहेक कुनै बैंकहरु छैनन् । स्टेशनकै ठिक पछाडि एउटा हुलाक छ, त्यहाँ हरेक दिन बिदेशीहरुको घुँइचो हुन्छ । यहाँ भएका सीमित एटिएममा जहाँ गए पनि लामो लाईन बस्नुपर्ने बाध्यता छ । कुनै एटिएम कर्नरहरुमा राखिएका वातानुकुलित मेशिन बर्षौदेखि काम गर्दैनन् । चर्को गर्मीको बेलामा असिन-पसिन भएर लाइन बस्नुपर्ने बाध्यता छ । यामानोते लाईनका सबै स्टेशनहरुमा विद्युतिय भर्याङ राखिएका भए पनि शिनओकुबो स्टेशनमा बिद्युतिय भर्याङ नै छैन जसले गर्दा अन्धा-अपाङ्ग, बृद्धा र अशक्त यात्रुहरुलाई असुबिधा हुने गरेको छ । बाहिर निस्कने र भित्र प्रवेश गर्ने द्वार पनि अहिलेसम्म एउटा मात्र छ जसले गर्दा भिडभाडको बेलामा यात्रुहरुलाई असुबिधा पुग्ने गरेको देखिन्छ । स्थानीय जापानीहरुका अनुसार १०, १२ वर्ष अगाडिसम्म शिनओकुबोमा केही बैंकहरु थिए ती सबै पछि शिन्जुकुमा सरेका रहेछन् । जापानीहरु आफ्नो भूमिमा बिदेशीहरुको बढ्दो चहलपहल, भिडभाड, होहल्ला र नारा, जुलुस, र्याली र भिड प्रदर्शन जस्ता उत्ताउला गतिबिधि मन नपराउने स्वभावका हुन्छन् । उनीहरु चाहन्छन् बिदेशीहरु जुन कामका लागि जापान आएका हुन् अनुशासित र शान्त भएर अरुलाई डिष्टर्व नहुने गरी खुरुखुरु आफ्नो काम मात्र गरुन् । हुन पनि हाम्रो देशमा बिदेशीहरुले नारा जुलुस र धर्ना गरेर शक्ति र भिड प्रदर्शन गरेको नेपालीहरुले पनि शायदै रुचाउलान् । तर शिनओकुबो पहिलैदेखि जापानीहरुको भन्दा बिदेशीहरुको बिशेषगरी कोरियन तथा चिनियाहरुको बाहुल्यता भएको डाउन टाउनका रुपमा बिकास हुँदै आएको छ । यहाँका पाका र रैथाने जापानीहरु बिदेशीहरुको उच्छृङ्खल गतिबिधिप्रति त्यति खुशी छैनन् । त्यसैले होला शिनओकुबो एरियाका जापानी ब्यापारीहरुले संभव भएसम्म आफ्नो ब्यवसाय अन्यत्र सार्न चाहन्छन् । तर नेपालीहरु भने शिनओकुबोमा आउन मरिहत्ते गरिरहेका छन् । हालैखुलेको एउटा नेपाली फुदोसानमा भेटिएका पसल गर्ने ठाउँ खोज्न पुगेका एक नेपालीले भने – ’शिनओकुबोमा नेपालीहरुले कमाउनु कमाईसके, हामी त गाउँतिर चाप्दा पछि परियो, भित्र भित्र र दुई तीन तलामाथि भए पनि हुन्छ, जसरी भए पनि रेष्टुरेन्ट गर्ने ठाउँ खोजिदिनुपर्यो । शो कै लागि भए पनि शिनओकुबोमा एउटा पसल त नखोलि भएको छैन ।’
भेटघाट, किनमेल र अन्य हिसाबले पनि नेपालीहरुको लागि शिनओकुबो अब सबैको केन्द्रबिन्दु भईसकेको अवस्थामा ब्यवसायीहरुको ध्यान तानिनु स्वभाविकै हो । अर्कोतिर यहाँ नेपालीका लागि मात्र नभएर एशियाली मुलुकका नागरिकहरु, अफ्रिकी र मुश्लिम मुलुकका बिदेशीहरुका लागि आवश्यक पर्ने खाद्यान्न पाइन्छन् । अन्यत्र नपाईने तरकारी र फलफुल किन्न पाइने २४ सै घण्टा खुल्ने तरकारी तथा फलफुल पसल छन् । रेष्टुरेन्टका लागि आवश्यक पर्ने सामानहरु सुपथ मूल्यमा पाईन्छन् भने यहां रातभर खुल्ने रेष्टटुरेन्ट तथा क्याफेहरु प्रशस्त छन् । बिशेषगरी कामबाट ढिला फर्कने विद्यार्थीहरुका लागि सुपथ मुल्यमा र महिनावारी पनि खान पाईने अबेरसम्म खुल्ने नेपाली रेष्टुरेन्टहरु छन् । बिहान उज्यालो भएदेखि रातको ३, ४ बजेसम्म नेपालीहरु चर्को चर्को कुरा गर्दै ओहोरदोहोर गरेको शिनओकुबोमा निकै देख्न पाईन्छ । यस्तो दृश्यले जो कोहीलाई आफु जापानमा नभएर काठमाडौंको बाघबजार वा कतै तिर भएको अनुभूति दिलाउँछ । यसबाहेक शिनओकुबो एरियामा जापानी भाषा स्कुलहरु पनि प्रशस्त छन् । जसले गर्दा पनि अरु बिदेशी जस्तै नेपालीहरुले पनि शिनओकुबोमा बस्न बढि रुचाएका हुन सक्छन् । अचेल संसारभरिका बिदेशीहरु शिनओकुबोमा देख्न पाईन्छ । त्यसैले जापानी मिडियाको ध्यान पनि शिनओकुबोतिर निकै पर्ने गरेको छ । जापानका टेलिभिजनहरुले आफ्ना नाम चलेका थुप्रै कार्यक्रमहरु शिनओकुबोको बारेमा पटक पटक प्रसारण गरिसकेका छन् भने अझै कार्यक्रम उत्पादनका लागि मिडियाहरु शिनओकुबोमा धाईरहेका देखिन्छन् । यहाँका पत्रपत्रिकाहरुमा पनि शिनओकुबोको बारेमा बाक्लै सामाग्री प्रकाशन भएको देखिन्छ । शिनओकुबोका चोक र गल्लीहरुमा जताततै नेपाली झण्डा फहराईरहेको देख्न पाईन्छ । जापानका नेपालीहरुले गरेको एउटा गर्व गर्न लायकको उदाहरणीय कार्य संयुक्त प्रयासमा खुलेको एभरेष्ट इन्टर्नेशनल स्कुल पनि शिनओकुबोकै उपज हो । शिनओकुबोमै रहेको समुद्रपारि डट कमको कार्यालयमा ६ महिनासम्म अस्थायी सम्पर्क कार्यालय राखेर स्कुलको आवश्यकता, संभाब्यता र यसको सुदुरभविष्य बारेमा गृहकार्य गर्न दर्जनौ पटक भेला, गोष्ठि र सेमिनार हुँदै स्कुलको स्थापना भएको हो । यसअघि पनि समुद्रपारि डट कमले करिव डेढ वर्षसम्म गरेको सर्बेक्षणबाट प्राप्त सुझाव तथा प्रतिक्रियाले स्कुल स्थापना गर्ने अभियानलाई ठूलो ऊर्जा मिलेको थियो । शिनओकुबोमा आवश्यकता अनुसारको भौतिक संरचना उपलब्ध हुन नसकेपछि स्कुल आशागायामा सुरु गरिएको हो ।
के छ त शिनओकुबोको भविष्य ?
अरुलाई छोडेर नेपालीहरुले गर्ने ब्यवसायको मात्रै कुरो गर्ने हो भने नेपालीहरुमा देखासिकी अर्थात कपी बिजनेश गर्ने एउटा नराम्रो रोग फैलदों छ । आफ्नै मौलिक अवधारणाअनुसार नयाँ नयाँ बिजनेश गर्ने सोचको उत्पादन क्षमता र पहुँचको नेपालीहरुमा खाँचो छ । अरुले गरेको राम्रो र चलेको देखेपछि सकेसम्म आडैमा नभए पनि एउटै एरियामा समान प्रकृतिको ब्यवसाय सुरु गरिहाल्ने नेपाली रोगले शिनओकुबोमा पनि निकै गाँजेको छ । शिनओकुबो एरियामा नेपालीको ब्यवसाय अब छिट्टै करिव तीन दर्जन पुग्दै छ । आपसी समन्वय हुन सके नेपाली समुदाय लक्षित फरक फरक प्रकृतिको ब्यवसायका यहाँ अरु पनि प्रशस्त संभावनाहरु छन् । पारस्परिक समन्वय बिना हुने ब्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धाको खतरा बढेर जान्छ । यस्तो स्थितिमा सबैलाई ब्यवसायिक सफलता हासिल हुन सक्दैन । बिना अध्ययन उच्च जोखिम मोलेर शिनओकुबोमा नेपालीहरु अन्धाधुन्ध लगानी गर्न तयार देखिन्छन् । ब्यवसायिक होस्, बौद्धिक होस या अरु कुनै, हामी नेपाली अन्य मुलुकका नागरिकसंग प्रतिस्पर्धा गर्न सक्दैनौ । तर आफ्नै नेपाली दाजुभाइसंग भने भूगोलको जुन कुनामा पुगे पनि सिंगौरी खेलिहाल्छौं र न आफु अगाडि बढ्न सक्छौ न अरुलाई अगाडि बढ्न दिन्छौं । शिनओकुबोमा पनि ठिक यहि स्थिति देखिएको छ । अबको एकाध वर्षमा यसका सकारात्मक भन्दा नकारात्मक नतिजा बढि नआउलान् भन्न सकिन्न । त्यसैले शिनओकुबोमा ब्यवसायिक लगानी गर्ने मनिस्थितिमा भएकाहरुले अझै राम्रोसंग बिचार गर्न र ब्यवसायको प्रकृतिबारे अध्ययन गर्न आवश्यक रहेको यहाँका पुराना ब्यवसायीहरु बताउँछन् ।
ओकुबो र शिनओकुबो एरियामा नेपालीहरुद्वारा सञ्चालित ब्यवसायहरु
१. मिलन – (नेपाली इण्डियन रेष्टुरेन्ट) – २००५
२. केबि किचन (नेपाली इण्डियन रेष्टुरेन्ट) – २००५
३. बाराही हलाल फुड – २००८
४. जिएमटी इन्टर्नेशनल (नेपाली समाचार र समुद्रपारि) – – २००८
५. मः मः (नेपाली रेष्टुरेन्ट) – २००९
६. अर्जुन (नेपाली इण्डियन रेष्टुरेन्ट)
७. शिखर (नेपाली इण्डियन रेष्टुरेन्ट)
८. तरकारी पसल (याओया)- २०११
९. सिटी एक्सप्रेस रेमिट्यान्स – २०१२
१०. हट चिल्ली – (नेपाली इण्डियन रेष्टुरेन्ट) – २०१४
११. चौतारी (नेपाली रेष्टुरेन्ट) – २०१४
१२. स्वल्टी हलाल फुड तथा खाजाघर – २०१४
१३. सोलमारी – (नेपाली रेष्टुरेन्ट) -२०१५
१४. क्वालिटी हलाल फुड – २०१५
१५. नाङलो (नेपाली रेष्टुरेन्ट) – २०१५
१६. मः मः ओकुबो शाखा (नेपाली रेष्टुरेन्ट) – २०१५
१७. संसारा रेमिट्यान्स – २०१५
१८. ग्लोबल होम नेट वर्क (फुदो सान) – २०१५
१९. थकाली भान्साघर मुस्ताङ – २०१५
२०. टोकियो रोधी क्लव (दोहोरी रेष्टुरेन्ट) – २०१६
२१. रातोभाले (नेपाली रेष्टुरेन्ट) – २०१६
२२. सिटी ट्राभल – २०१६
२३. रक साल्ट – (जापानी इजागाया) – २०१६
२४. बार काडे – (डान्स बार) – २०१६
२५. नेपाली चुल्हो – (नेपाली रेष्टुरेन्ट) – २०१६
२६. शिन्का – (डिजाईन-प्रिन्टिङ) – २०१६
२७. बिबि होलिडेज ट्राभल
२८. जेएमई रेमिट्यान्स
२९. आइटी भेञ्चर – (आइटी कम्पनी)
३०. एबिज ग्रुप – (डिजाईन-प्रिन्टिङ)
३१. साकुरा – (जापानी इजागाया) – २०१६
३२. नेपाली गजल साँझ – २०१६