Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – नेपाली जनप्रगतिशील मोर्चा जापानले माओबादी पार्टीहरु बिच बिहीबार भएको ऐतिहासिक एकताको स्वागत गर्दै देश तथा बिदेशमा रहनुभएका कम्युनिष्ट पार्टी माओबादी केन्द्रमा गोलबन्द सबैमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

तत्कालिन एमाओबादीको जापानस्थित भात्तृसंगठन मोर्चाले एक बिज्ञप्ती प्रकाशित गर्दै एकताको घोषणा सभाद्वारा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओबादी केन्द्रको अध्यक्षमा सर्बसम्मत चयन भएकोमा पनि बधाई ज्ञापन गर्दै माओबादी पार्टी बिचको एकताले अग्रगामीका पक्षधर नेपालीहरुमा उत्साहको सञ्चार गरेको बताईएको छ ।

मोर्चाका महासचिब हिमाल भट्टराईद्वारा जारी गरिएको बिज्ञप्तीको पूर्णपाठ यस प्रकार छ ।

सर्बप्रथम दश वर्ष जनयुद्धको क्रममा सहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात महान सहिदहरुप्रति नेपाली जनप्रगतिशील मोर्चा जापान हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ र जनयुद्धका क्रममा बेपत्ता मनाईएका योद्धा, घाईते, अपाङ्गहरुप्रति हार्दिक सम्मान ब्यक्त गर्दै बिभिन्न चरणमा यो वा त्यो बहानामा फरक फरक धार अवलम्बन गर्दै छुट्टिएका माओबादी घटकहरु फेरि गोलबन्द भएको यो बिशेष ऐतिहासिक अवसरमा नेपालका सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील र अग्रगामीका पक्षधर देशभक्त जनसमुदायप्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं । माओबादीहरुबिच भएको एकताले अग्रगामीका पक्षधर नेपालीहरुमा उत्साहको सञ्चार गरेको छ ।

साथै हिजोको एकता घोषणा सभाले सर्बसम्मतरुपमा नेकपा माओबादी केन्द्र नामाकरण गरी नयाँ पार्टीको गठन गर्दै उक्त पार्टीको अध्यक्षमा कमरेड प्रचण्ड चयन हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छौं । नेपालको कम्युनिष्ट आन्दोलनले बिभिन्न आरोह अवरोहहरु पार गर्दै अगाडि बढिरहेको परिवेशमा अहिले पनि देशको राष्ट्रिय राजनीति माओबादीको वरिपरि घुमिरहेको छ भने देश माओबादीकै एजेण्डामा अघि बढिरहेको छ । शताब्दिऔं लामो राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक, समावेशी जस्ता राजनैतिक उपलब्धिहरु सुनिश्चित गर्दै संबिधान लेखनजस्तो बिशेष कार्यसम्पादनमा माओबादीको मुख्य भूमिका रहेको कुरा घामजस्तै छर्लङ्गै छ । अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्दै त्यसलाई कार्यान्वयन गर्ने प्रमुख अभिभारा अझै बाँकी रहेको परिप्रेक्ष्यमा सबै माओबादीमा आस्था राख्नेहरु दृढतापूर्वक एक ठाउँमा उभिएर अगाडि बढ्नुको बिकल्प हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहने छैन ।

अन्त्यमा, जापान लगायत बिश्वमा छरिएर रहेका सम्पूर्ण प्रगतिशील नेपालीहरु अर्थात क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु बिचमा पनि एकताको लागि अपिल गर्दै जनबादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी समाजबादी क्रान्तिको दिशामा अगाडि बढ्न हिजोको ऐतिहासिक दिनले हामी सबैलाई प्रेरणा दिने अपेक्षा राख्दै आगामी दिनमा पनि नेतृत्व वर्गले सच्चा कम्युनिष्टहरु बिचको एकता अभियानलाई जारी राख्दै अगाडि बढोस् भन्ने कामना गर्दछौं ।

तपाईको प्रतिक्रिया