टोकियो – नेपालको गोरखा जिल्लामा अवस्थित मनास्लु हिमाल आरोहणको ६० औं वार्षिकोत्सव ३ देखि ८ मे २०१६ सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइयो ।
जापानी पर्वतारोहण टोलीले ०९ मे १९५६ को दिन प्रथम पटक सो हिमालको सफलतापूर्व आरोहरण गरेको थियो । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको कार्यक्रमको रुपमा मनाइएको एक हप्ते उक्त कार्यक्रममा मनास्लु डे, हिमाल आरोहण सम्बन्धी फिल्म प्रदर्शनी, नेपाल फ्रेन्डशीप डे, जिम्वोचो नेपाल फेस्टिवल तथा भूकम्पपछिको पूनर्निर्माण सम्बन्धि फोटो प्रदर्शनी लगायतका गतिविधि सञ्चालन गरिएको थियो । एक हप्ते सो कार्यक्रमको मूख्य आकर्षणको रुपमा जापानी युवराज नारुहितोको उपस्थिति एवं मनास्लु हिमाल आरोहण सम्बन्धी चलचित्र लगायत अन्य कार्यक्रमको अवलोकन रहेको थियो । कार्यक्रममा जापानी युवराजले १९८७ मा नेपालको भ्रमण गर्नु हुँदाका तस्विरहरु ल्याई आफ्नो नेपाल भ्रमणताकाको रमणीय सम्झनाहरु स्मरण गर्नुभएको थियो ।
यसै सिलसिलामा ८ मे मा नेपाली राजदूतावास र दी माइनिची न्यूजपेपरद्वारा संयुक्त रुपमा आयोजित नेपाल अर्थक्वीक रिकन्स्ट्रक्शन इभेन्ट : नेपाल फ्रेन्डशीप डे नामक विशेष कार्यक्रममा कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, नेपालका लागि जापानका राजदूत मासासी ओगावा, विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रथम महिला जुन्को ताबेई, पर्वतारोही केन नोगुचीलगायत ३५० जना विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वोल्दै कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल–जापान द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरुवारे प्रकाश पार्नुभएको थियो । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले विभिन्न तहमा रहेको नेपाल–जापान सम्बन्ध र नेपालको सामाजिक तथा आर्थिक विकासमा जापनले प्रदान गर्दै आएको सहयोग सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
सगरमाथा आरोही प्रथम महिला जुन्को ताबेईले विभिन्न समयमा आफूले गरेका नेपाल भ्रमण सम्बन्धी अनुभव व्यक्त गर्नुका साथै ग्लोबल वार्मिङले हिमालय क्षेत्रमा पारेका नकारात्मक प्रभावहरु एवं नेपालको हिमाली क्षेत्रमा सफल तथा जापानमा प्रख्यात एपल प्रोजेक्टका सम्बन्धमा जानकारी गराउनु भएको थियो । उहाँले जापानी युवाहरुलाई पहाड÷हिमाल चढ्न र नेपाल गई नेपाललाई सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।
जापानी पर्वतारोही केन नोगुचीले माउन्टेन क्लिनअप प्रोजेक्टलगायत सगरमाथा सफाई अभियान सम्बन्धमा प्रकाश पार्नु भएको थियो । ५१ पटक नेपाल भ्रमण गरेका नोगुचीले सो कार्यक्रममा नेपाल तथा आफ्नो नेपाल भ्रमण सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी टोकियोको जिम्बोचो भन्ने स्थानमा सम्पन्न जिम्बोचो नेपाल फेष्टिवलमा नेपाली पन्चेबाजा, साँस्कृतिक नृत्य, नेपाली खाना, उत्पादनहरु तथा हिमाल आरोहण सम्बन्धी फोटो प्रदर्शनी गरिएको थियो ।