टोकियो – मिडिया म्यासेज प्रा. लि. द्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिकोत्सव आइतवार टोकियोमा सम्पन्न भएको छ ।
नेपालबाट चर्चित कलाकारहरु आमन्त्रण गरी बिशेष साँगीतिक कार्यक्रम म्युजिक मेला सहित आयोजित तेस्रो वार्षिकोत्सव समारोहको नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, प्रमुख प्रायोजक ब्यवसायी दिलु खत्री, सहप्रायोजक खिमबहादुर निउरे, एभरेष्ट इन्टर्नेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठ र मिडिया म्यासेज प्रा. लि. का प्रबन्ध निर्देशक नविन निउरेले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
म्युजिक मेलामा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, नविन पौडेल, सहिमा श्रेष्ठ र निर्णय एनएसकेले भरपुर मनोरञ्जजन दिलाएका थिए ।
सो म्युजिक मेलामा बाल कलाकार दिब्य नेपालको नृत्य र हास्यकलाकार कुमार श्रेष्ठ (फर्सीलाल) को प्रहसनले थप रौनकता प्रदान गरेको थियो ।
तेस्रो वार्षिकी साँगीतिक समारोहमा बिशेष अतिथिकोरुपमा बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले नेपाल सन्देश डट कम परिवारलाई बधाई ज्ञापन गर्दै सूचनाको क्षेत्रमा जिम्मेवार भूमिका निर्बाह गर्न थप सफलताको कामना गर्नुभयो । उहाँले डायस्पोरिक पत्रकारिता थप चुनौतीपूर्ण बन्दै गएकोले र प्रेसमाथि हुने ज्यादती बिरुद्ध डटेर सामना गर्न तमाम सञ्चारकर्मीहरु एकजुट हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो । उहाँले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रतालाई सँधै केन्द्रमा राखी निर्भिक भएर सत्य, तथ्य र जिम्मेवार पत्रकारिता गर्न पनि तमाम सञ्चारकर्मीहरुमा अपिल गर्नुभयो ।
यसैगरी मिडिया म्यासेज प्रा. लि. का अध्यक्ष रविन्द्र श्रेष्ठले विगत तीन वर्षदेखि विभिन्न आरोह र अवरोह पार गर्दै नेपाल सन्देश डट कमले अविचलित रुपमा सूचनाको सेवा पुर्याउँदै आएको बताउनुभयो । उहाँले जापानको नेपाली समुदायमा यहाँको मिडियाले खेल्दै आएको भूमिका बारे प्रकाश पार्दै कुनै पनि कार्यक्रमको समाचार संकलनमा पुगेका पत्रकारहरुका लागि निर्बाधरुपमा प्रेस पासको ब्यवस्था हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।
राष्ट्रिय गानबाट सुरु भएको म्युजिक मेलाको प्रारम्भमा डिजे जोन छन्त्यालको स्वागत मन्तब्य रहेको थियो भने अन्तमा प्रमुख अतिथि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल सन्देश डट कम परिवारलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
टोकियोको इकेगामी खाइकानमा भएको सो तेस्रो वार्षिकोत्सव समारोहमा आयोजक संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठ, साँगीतिक चरण म्युजिक मेलाको शिक्षा शान्ति वाइवा र प्रदिप कार्कीको सञ्चालन रहेको थियो ।
चर्चित कलाकारहरुको लोक, आधुनिक, र्याप तथा हास्य जस्ता फरक फरक विधाका साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । म्युजिक मेलालाई सफल पार्न जापानका थुप्रै ब्यवसायीहरुले प्रायोजन गरेका थिए । ***