शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

दमौली – नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताउनुभएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा रु ३९३ अर्ब रहेको र रु ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी दिनुभयो । मुलुकको आर्थिक वृद्धिदर दुई प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशत वृद्धिदर पुर्याउने लक्ष्य सरकारको रहेको उहाँले बताउनुभयो । घरखेत बाझो राखेर युवा विदेशिएपछि वार्षिक रु आठ अर्ब भन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उहाँले बताउनुभयो । अहिले पुनःनिर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहयोग पुर्याउने भनाइ गभर्नर नेपालको छ ।
नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । छ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी रु ६ अर्ब १६ करोड रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया