टोकियो– प्रविधिले संस्कृतिमाथि पारेको असर समेटेर बनाइएको छोटो फिल्म ‘सेलफोन’को जापानमा च्यारिटी सो हुंँदैछ । फूलमान वलले निर्देशन गरेको यो छोटो फिल्म भूकम्पपीडितहरुको सहयोगार्थ नेपाल तामाङ समाज, जापानले च्यारिटी सो गर्न लागेको हो ।
यही अप्रिल २४ तारिख आइतबार ३ बजेदेखि टोकियोको सिनओकुबु स्थित एसियन डाईनिङ एन्ड रोधी क्लबमा प्रदर्शन गर्न लागिएको हो । ढ्याङ्ग्रो बेचेर मोबाइल किन्ने एक ग्रामिण किशोरलाई पछ्याएको ‘सेलफोन’ यसअघि अमेरिका, क्यानडा, भारत, बंगलादेश, चीन लगायतका विभिन्न फिल्म फेस्टिभलमा देखाइसकिएको छ भने सन् २०१२ को नेपाल अन्तर्राष्ट्रिय आदिबासी फिल्म फेस्टिभलमा पुरस्कृतसमेत भएको थियो । ङिमा पाख्रिन तामाङ (अमेरिका), चन्द्रमाया तामाङ (इजरायल) र शान्ति वाइवा (नेपाल)ले निर्माण गरेको १५ मिनेटको ‘सर्ट फिल्म’मा उमेश तामाङ, शान्ति वाइवा, बुद्धि तामाङ, प्रेम लोप्चन लगायतले अभिनय गर्नुभएको छ ।
यस्तै शान्ति फाउन्डेसन नेपालले पश्चिमी तामाङ सभ्यतामा आधारित रहेर बनाएको सांगीतिक डकुमेन्ट्री ‘म्हेन्दोमाया’समेत सेलफोनसंँगै देखाउन लागेको महासचिव कुमार मोक्तानले बताउनुभयो । ‘म्हेन्दोमाया’को निर्देशन भने शान्ति वाइवा र ज्ञानु लामाले गरेका छन् । ३० मिनेटको डकुमन्ट्री फिल्ममा रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा प्रचलित तामाङ गीत तथा नृत्य ‘म्हेन्दोमाया’को इतिहास, परम्परा र शैली समेटिएको बताइएको छ ।
सोबाट उठेको रकम भुकम्पपीडित बस्तीमा नमुना तामाङ गाउं बनाउन सहयोग स्वरुप उपलब्ध गराउने निर्देशक बलले जानकारी दिनुभयो ।