टोकियो – बिभिन्न मुलुकहरुमा लामो समयदेखि रिक्त रहेका राजदूतको सरकारले टुंगो लगाएको छ । सरकारले राजनीतिक दलका नेता र कर्मचारी गरी २१ जना राजदूत सिफारिस गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका ८ कर्मचारी राजदूत बनेका छन् भने बाँकीमा राजनीतिक भागवण्डा गरिएको छ ।
जसअनुसार एमाले कोटाबाट ६ जना, एमाओबादीबाट ४ जना, राप्रपा नेपालबाट ३ जना र फोरम लोकतान्त्रिकबाट १ जना राजदूतमा सिफारिश गरिएका छन् । एमालेबाट राजदूत सिफारिश हुनेहरुमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चीन, डा. खड्ग केसी जापान, युवराज कार्की दक्षिण कोरिया, नारद भारतद्धाज श्रीलंका, डा. शिवमाया तुम्वाहम्फे इजरायल र अलिअख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।
यसैगरी एमाओवादीको तर्फबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, पदम सुन्दास बहराइन र महेन्द्र सिंह कतारका लागि राजदूतमा सिफारिस भएका छन् । यसैगरी राप्रपा नेपालबाट पूर्वमन्त्री निरञ्जन थापा रसिया, भरतबहादुर रायमाझी यूएइ र खगेन्द्र बस्नेत बंगलादेशका लागि राजदूतमा सिफारिश हुनुभएको छ ।
यसैगरी क्यारियर डिप्लोम्याट पृष्ठभूमिबाट राजदूतमा सिफारिश हुनेहरुमा बेलायतका लागि परराष्ट्रका डा. दुवसु क्षेत्री, बेल्जियमका लागि लोकबहादुर थापा, अष्ट्रियाका लागि प्रकाश सुवेदी, ब्राजिलका लागि तारा पोखरेल, जर्मनीका लागि रमेश खनाल, पाकिस्तानाका लागि सेवा लम्साल अधिकारी, इजिप्टका लागि झविन्द्र अर्याल, म्यानमारका लागि ऋषि घिमिरे नेपाली राजदूतमा सिफारिस भएका छन् ।
जापानका लागि यसअघिका राजदूत डा. मदनकुमार भट्टराई स्वदेश फिर्तीसंगै सुरु भएको जापानका लागि नयाँ राजदूतको चर्चा परिचर्चाले जापानबासी नेपालीहरुको ध्यान निकै तानिएको थियो । जापानका लगि संभावित राजदूतमा बिभिन्न ब्यक्तिहरुको नाम चर्चामा आउने सेलाउने पनि गरेको थियो ।
जापानका लागि सिफारिशमा परेका राजदूत डा. केसी त्रिविविका सहप्राध्यापक हुन् ।***