काठमाडौँ – जापानमा एकै दिन ९ लाख १० हजार जनाले नयाँ रोजगारी पाएका छन् । हालै विभिन्न विश्वविद्यालय तथा विद्यालयको पढाई पुरा गरेका ९ लाख १० हजार युवा जापानीहरुले शुक्रबार एकैपटक रोजगारी पाएका हुन् ।
टोयटा कम्पनीले मात्रै विश्वविद्यालयबाट दिक्षित भएका युवा मध्ये दुइ हजार दुइ सय ३९ जनालाई रोजगारी दिएको छ । नयाँ कामदारहरुको स्वागतको लागि टोयटा कम्पनीको मुख्य कार्यालय आइची केनमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै टोयटाका प्रमुख अकियो टोयोदाले टोयटा कम्पनी विश्वको सबैभन्दा उत्कृष्ट कम्पनी भएकोले यसलाई अझ अगाडी बढाउन र यसको साख बचाइराख्न नयाँ कामदारले पनि उत्कृष्ट र उल्लेखनिय प्रदर्शन गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
पाँच यस भन्दा वढी रोजगार प्रदायक कम्पनीहरुले शुक्रवारका दिन युवालाई नयाँ अवसर दिलाएका थिए । यसरी नयाँ रोजगार दिने कम्पनीहरुमा निसान, जापान एयरलाईन्सले कार्यक्रमलाई भव्यता पूर्वक मनाएका थिए । कालो सुटमा भेला भएकाहरुले शुक्रवारलाई आफनो जिवनकै महत्वपूर्ण दिनका रुपमा मनाउने बताएका थिए ।
त्यस्तै जापानको अर्को प्रख्यात पानासोनिक कम्पनीले छ सय ६९ जना नयाँ कामदारलाई रोजगारी दिएको छ । यो कम्पनी जापानको प्रमुख विद्युतीय सामाग्री उत्पादक गर्ने कम्पनी हो । ओशाकामा अवस्थित कम्पनीले पनि नयाँ कामदारहरुलाई स्वागत गर्ने क्रममा सन् २०१८ सम्ममा १० खर्ब येनको कारोबार गर्ने कम्पनीको लक्ष्यमा नयाँ कामदारहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । यसैगरि जापानको सरकारी विमान सेवा जापान एयरलाइन्सले ५ सय जनलाई रोजगारी दिएको छ । जापानमा हरेक वर्षको अप्रिल १ लाई युवा युवतीहरुले औपचारिक रुपमा पहिलो रोजगारी शुरु गर्ने दिनका रुपमा मानिन्छ ।
तपाईको प्रतिक्रिया