भतिजाद्वय अतुल र सुधांशुले दिए दागबत्ती
काठमाडौं– राजकीय सम्मानका साथ पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हिन्दुधार्मिक परम्पराअनुशार उहाँको पार्थिव शरीरमा भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ती दिनुभयो ।
स्व। कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो ।
यसअघि उहाँको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेर आर्यघाट ल्याइएको थियो ।
कोइरालाको शवयात्रामा हजारौँको सहभागिता
शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवम् सर्वसाधारण गरी हजारौँको सङ्ख्यामा उपस्थिति थियो । यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा काँग्रेस केन्द्रीय सदस्यद्वय शशाङ्क कोइराला र शेखर कोइराला, स्वकीय सचिव अतुल कोइराला, उहाँका भाञ्जा रमेश शर्मालगायत हुनुहुन्थ्यो ।