Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

महोत्तरी – महोत्तरीको लक्ष्मीनियाँ– ७ मा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालय कान्तिबजार वर्षौंदेखि राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । उन्नाइसजना शिक्षक कार्यरत रहेको सो विद्यालयमा १० जना राहत शिक्षक कार्यरत रहेका छन् ।
विद्यालयमा एक स्थायी र एक अस्थायी शिक्षक रहेका छन् भने बाँकी शिक्षक निजी स्रोतबाट सञ्चालनमा रहेको विद्यालय स्रोतले जनाएको छ । विद्यालय २०६२ सालदेखि अधिकांश राहत शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ ।
न्यून आर्थिक स्रोत रहेको विद्यालयमा दरबन्दी मिलान हुन नसक्दा विद्यालय सञ्चालनमा कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिनुभयो । दरबन्दी मिलानका लागि जिल्ला शिक्षा कार्यालय महोत्तरीमा बारम्बार लिखित एवम् मौखिक रुपमा जानकारी गराउँदासमेत आफूहरुको समस्याप्रति सम्बन्धित निकायले खासै चासो नदेखाएको प्रधानाध्यापक सिंहको गुनासो छ ।
कक्षा ५ देखि माथि तहका विद्यार्थीसँग भर्ना शुल्कमा रकम थप गरी सङ्कलन भएको रकमले विद्यालय सञ्चालनमा सहयोग पुग्दै आएको विद्यालय स्रोतले जनाएको छ ।
यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी शत्रुधन यादवले दरबन्दी मिलान हुन नसक्दा महोत्तरीका अधिकांश विद्यालयको अवस्था लथालिङ्ग रहेको बताउनुभयो । जिल्लामा दरबन्दी मिलान २०५६ सालदेखि रोकिएको तर विद्यालय अनुमति दिने कार्य दिनप्रतिदिन बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको शिक्षा अधिकारी यादवले स्वीकार गर्नुभयो ।
अबको दुई तीन महिनापछि जिल्ला शिक्षा समितिको बैठक बसी जिल्लाभरिमा शिक्षक दरबन्दी मिलान गरिने यादवले भन्नुभयो । विद्यालयमा रहेको एनटिसी र एनसेलको टावरबाट आउने मासिक रकम नै विद्यालयको मुख्य आम्दानीको स्रोत रहेको छ । कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया