तीन जनाको मृत्यु, ५६ जना बिरामी
धनगढी– साविक सुदूरपश्चिमाञ्चल क्षेत्रमा मुसाबाट सर्ने ‘स्कर्ब टाइफस’ नामको रोगको सङ्क्रमणको समस्या बढ्दै गएको छ ।
विगत पाँच/छ महिनायता यस क्षेत्रमा यो रोगको सङ्क्रमणबाट ५६ जना बिरामी भएकामा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताउनुभयो । यो रोगबाट मृत्यु हुनेमध्ये एकजना जनस्वास्थ्य कार्यालय कैलालीका कर्मचारी पनि रहेका छन् ।
सेती अञ्चल अस्पताल धनगढीका वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले उपियाँ, उडुस लागेको मुसाले मानिसलाई टोक्दा यो रोग सर्ने गरेको बताउनुभयो ।
रोग लागेपछि बिरामीको आँखा रातो हुने, धेरै ज्वरो आउने, हात खुट्टा दुःख्ने भई समयमै उपचार नपाएमा किड्नी, कलेजोमा असर पार्नुका साथै, रक्तसञ्चार प्रणालीमा जटिलता उत्पन्न गराउने डा कायस्थले बताउनुभयो ।
समयमै उपचार भएमा रोगको उपचार सम्भव भए पनि उपचार पाउन नसक्नेको विभिन्न जटिलता उत्पन्न भई मृत्युसमेत हुन सक्ने बताइएको छ ।
यस क्षेत्रका डडेलधुरा, बैतडी, अछाम, दार्चुला, डोटी जिल्लाको तुलनामा कैलाली, कञ्चनपुर जिल्लामा यो रोगको समस्या बढी देखिएको बताइएको छ । डा कायस्थ नेतृत्वको चिकित्सकको टोलीले गएको साउन, भदौ र असोजमा तीन महिना लगाएर यो रोगबारे अध्ययन अनुसन्धान गरेको थियो ।