काठमाडौँ– व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले मधेसी जनताको माग सम्बोधन नभएको भन्दै मधेसी आन्दोलनलाई निरन्तरता दिने विभिन्न सरोकारवालाले बताउनुभएको छ ।
रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित एक कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवले व्यवस्थापिका–संसद्बाट पारित संविधानको संशोधन विधेयकले मधेसी मोर्चाको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाँले यसी माघ १८ गते पार्टीको बैठक बसेपछि मात्र आन्दोलनको कार्यक्रमको बारेमा पुनःविचार गरिने विचार व्यक्त गर्नुभयो ।
सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादवले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपरेमा पनि मधेसी जनतामाझ गई छलफल गरेर मात्र निर्णय लिने भन्दै मोरङको रङ्गेली घटनाको दोषी सरकार नै भएको आरोप लगाउनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का महामन्त्री जीतेन्द्र सोनलले शीर्ष तीन दलले मधेसी मोर्चाले उठाउँदै आएको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।