काठमाडौं– अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेसनलले भूकम्पपीडित बालबालिकाहरुको शिक्षाको निमित्त सञ्चालन हुने ‘प्रोजेक्ट होप’मा सहभागी हुन सार्वजनिक अपिल गरेको छ ।
शिक्षाको निमित्त ‘प्रोजेक्ट होप’ अर्थात एक दाता, एक विद्यार्थी छात्रवृत्ति कार्यक्रममा सहयोग गर्न आह्वान गरिएको छ । सोलिडारिटी इन्टरनेसनलको काठमाडौंमा बसेको विश्वपरिषद बैठकमा अभियान तत्कालै सुरु गर्ने निर्णय गरेको छ ।
प्रोजेक्ट होपमार्फत नेपालका गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको सोलिडारिटी इन्टरनेसनलले यो कार्यक्रममार्फत दाता र सहयोग प्राप्त गर्नेलाई सोझै जोड्न खोजेको छ । यो कार्यक्रमका दाताहरुले एक वर्षसम्मका लागि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गर्ने अपेक्षा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकत राजेन्द्र गौतमले जानकारी दिनुभयो । अभियान गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लामा सञ्चालन हुनेछ ।
संस्थाले यो अभियानको पहिलो चरणमा एक सय दाता र एक सय बालबालिकाबीच एकता गराउने प्रयास गर्दैछ । अभियान सफल बनाउन संस्थाले आफ्ना सम्पूर्ण राष्ट्रिय परिषद्हरुमा सहयोगका लागि अपिल जारी गरेको छ ।