Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

न्याय खोज्न विद्यार्थी सदरमुकाममा
गोरखा – मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।
प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो । गत मङ्सिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शिक्षकले छात्रछात्रालाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् । दुवै पक्षका अभिभावक साथ लिएर कुँवर र राना सदरमुकाममा छन् । उनीहरुले जिल्ला शिक्षा कार्यालयमा समेत आफूहरुलाई विद्यालयले निष्कासन गरेको बारे जानकारी गराइसकेका छन् ।

बिहे गरेको केही दिनपछि विद्यालय जाँदा प्रअले ‘किन स्कुल आएको’ भन्दै ढोकाबाट बाहिर निकालिदिएको छात्रा रानाले बताउनुभयो । ‘हेडसरले कुनै हालतमा स्कूल पढ्न दिन्न भन्नुभएको छ’ रानाले भन्नुभयो । प्रवेशिका परीक्षा नजिकिएको भन्दै विद्यार्थीहरुले जति सक्दो छिटो विद्यालय गई आफूहरु पढ्ने वातावरण बनाइदिन शिक्षा कार्यालयसँग आग्रह गरेका छन् । “एसएलसीको मुखमा हामीलाई पढ्नबाट बञ्चित गराइयो । स्कुल जानै नपाइने कस्तो नियम ?” छात्र कुँवरले भन्नुभयो । शिक्षा कार्यालयले जे भन्छ त्यही गर्ने भन्दै उनीहरु सदरमुकाम बसेका हुन् ।

विद्यालयका प्रध्यानाध्यापक चूडामणि अधिकारीले विसं २०६८ साल फागुन ४ गते गरिएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको जिकिर गर्नुभयो । “एउटै विद्यालयमा पढ्ने छात्रछात्राले बिहे गरे भने निष्कासन गर्ने निर्णय छ”–उहाँले भन्नुभयो, “नियम कार्यान्वयन गर्नैप¥यो । अब शिक्षा कार्यालयले जे निर्देशन दिन्छ त्यही गरिन्छ” शिक्षा कार्यालय भने आफूहरुलाई मौैखिक जानकारी मात्रै आएको भन्दै पन्छिएको छ । “पढ्ने व्यवस्था मिलाउन विद्यालयलाई आवश्यक निर्देशन दिएका छौँ” सहायक जिशिअ ठाकुरजी तिवारीले भन्नुभयो, “पहिले झैँ पठनपाठनको व्यवस्था गर्न भनेका छौँ ।”

तपाईको प्रतिक्रिया