Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Maha Jatra Japan Banner

टोकियो – महजोडीको बिशेष हास्यब्यङ्ग्य प्रहसन प्रमुख आकर्षण रहेको महजात्रा आइतवार टोकियोमा सम्पन्न भएको छ । कार्यक्रमको सुरुमै महजोडीले आफ्नो प्यारोडी गीतमार्फत देशको राजनीतिक अस्थिरता एवं विकृति विसंगतिप्रति तिखो ब्यङ्ग्य कस्दै देशले एउटा गतिलो नेता पाउन नसकेकोमा दुखमनाउ गरे ।

बाहुनबहादुरको भूमिकामा मदनकृष्ण श्रेष्ठ र नेवारबहादुरको भूमिकामा हरिवंश आचार्यको जातजाति र धर्म, संप्रदायको नाराले बिखण्डित हुँदै गएको नेपाली समाजतर्फ ईङ्गित गर्दै राष्ट्रिय एकताले नै देश मजबुत हुने आशयको ब्यङ्ग्य मिश्रित प्रहसनले दर्शकहरुलाई भरपुर हसाएका थिए । महजोडीलाई नरेन्द्र कसांकार र हरिवंशपुत्र मोहितवंश आचार्यले साथ दिएका थिए ।

कार्यक्रममा लोकगायक बमहादुर कार्कीले नेपाली जनजिब्रोमा झुण्डिएका डाँडैको देवी देउराली, खोलापारी निरमाया वारी म रुने, पानको पात लगायतका आफ्ना पुराना लोकभाकाहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरे । यसैगरी चर्चित नायिका प्रियङ्का कार्कीले दमदार नृत्य प्रस्तुत गरेर महजात्रामा रौनकता थपेकी थिईन् भने एभरेष्ट इन्टर्नेशनल स्कुलका विद्यार्थीहरु सुमेरा थापा र नोनी गौचनको बालनृत्य पनि कार्यक्रमको अर्को आकर्षण बनेको थियो । कार्यक्रममा मदनकृष्णपुत्र यमन श्रेष्ठको पनि सांगीतिक प्रस्तुती रहेको थियो भने क्रिकेट कप्तान पारस खड्काले नेपालले क्रिकेटमा हासिल गरेको उचाईका बारेमा प्रकाश पारेका थिए ।

प्रमुख अतिथि जापानका लागि कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, बिशेष अतिथि एनआरएन आइसीसी उपाध्यक्ष भवन भट्ट, आईसीसी एशिया प्यासिफिक संयोजक किरणविक्रम थापा, मुख्य प्रायोजक संसारा रेमिट्य़ान्सका शंकर गिरी र महजात्रा संयोजक एवं एनआरन अध्यक्ष सुदन थापाले संयुक्तरुपमा रिबन काटेर महजात्राको उदघाटन गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजभण्डारीले आफ्नो चार वर्षे कार्यकालमा नेपाल जापान सम्बन्धलाई थप मजबुत बनाउने र नेपाली दूतावास र जापानका नेपालीहरुबीचको सम्बन्ध र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले जापान आएलगत्तै परोपकारी उद्देश्यले गरिएको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरे । राजभण्डारी केहिदिन अगाडिमात्र नेपाली दूतावासमा उपनियोग प्रमुखकारुपमा कार्यभार सम्हाल्न आईपुगेका हुन् । सो अवसरमा जापानबासी नेपालीहरुको तर्फबाट कार्यवाहक राजदूत राजभण्डारीलाई स्वागत पनि गरिएको थियो ।

सो अवसरमा महजात्रा कार्यक्रमका संयोजक समेत रहेका एनआरएन अध्यक्ष सुदन थापाले उपस्थित सबैमा स्वागत गर्दै जापानबासी नेपालीहरुमा आईपर्ने आकस्मिक समस्या हल गर्ने उद्देश्यले परोपकारी कोष निर्माण गर्न महजात्रा कार्यक्रमको आयोजना गरिएको बताए । थापाले उक्त कोष मार्फत जापानबासी नेपालीहरुको साझा समस्यालाई सम्बोधन गरिने बताए । सो अवसरमा एनआरएन आईसीसीका उपाध्यक्ष भवन भट्ट र एशिया प्यासिफिक क्षेत्रीय समितिका संयोजक किरणविक्रम थापाले पवित्र उद्देश्यले आयोजित महजात्रा कार्यक्रम सफलताको कामना गरे ।

कार्यक्रमको साँगीतिक चरणमा नायिका प्रियङ्का कार्की र शिक्षाशान्ति वाईवाको सञ्चालन रहेको थियो भने यसअघिको औपचारिक समारोह भने महासचिव अनुज थापाले सञ्चालन गरेका थिए ।

महजोडीको प्रहसन ’बाहुनबहादुर र नेवारबहादुर’ मा महजोडीले नेपाली समाजमा फैलदों हरेक कुरामा जातिय रडाको र विकृत हुँदै गएको नेपाली राजनीति प्रति तिखो ब्यङ्ग्य प्रहार गरेका थिए भने प्रहसन ’डनको फोटो स्टुडियो’ मा नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली जनता शक्ति र पहुँच हुनेहरुको थिचोमिचोमै पिल्सिनुपरेको, बल र पाखुराको भरमा गुण्डागर्दी मच्चाउनेहरुको डनतन्त्र अर्थात मनपरितन्त्र मौलाउँदै गएको यथार्थतालाई खुलस्त चित्रण गरिएको थियो ।

’कार्यक्रम समग्रमा राम्रो रह्यो, देशमा विद्यमान बेथितिलाई महजोडीले हास्य मिश्रित ब्यङ्ग्यमार्फत उदाङ्गो पारेका छन् । जापानका नेपालीहरुले फरक अनुभूति गर्ने खालको कार्यक्रम भयो’ – हलबाट बाहिर निस्कदै गरेका योकोहामाबाट कार्यक्रम हेर्न आएका ब्यवसायी लोकनाथ वस्तीले प्रतिक्रिया दिए ।

’लोकभाका, दोहोरी, रोयला र झ्याउरेमा उफ्रि उफ्रि नाच्ने बानी परेका जापानका नेपालीहरुलाई महजात्रा कार्यक्रमको आखिरीतिर भने के के नपुगेजस्तो खल्लो त भयो नै यद्यपि महको प्रस्तुती स्तरिय र सन्देशमुलक लाग्यो – इवाराकीबाट महजात्रा हेर्न आएका बासुदेव धिमालले भने ।

यसैगरी साइतामाबाट परिवारसहित महजात्रा कार्यक्रम हेर्न आएका निलकण्ठ बरुवालले यति ठूलो बिशाल कार्यक्रम गरेर जापानबासी नेपालीहरुको समस्यालाई सम्बोधन गर्न थालिएको पहल प्रशंनीय रहेको बताए ।

महजात्रा कार्यक्रमको प्रमुख प्रायोजक संसारा रेमिट्यान्स रहेको थियो भने अन्य थुप्रै ब्यवसायीहरुले महजात्राका लागि दिल खोलेर प्रायोजना गरेका थिए । ५ करोड येनको परोपकारी कोष स्थापना गर्ने उद्देश्यले थालनी गरिएको अभियानको पहिलो शृङ्खलाकारुपमा टोकियोमा आइतवार महजात्रा भएको हो । नाकानोको जिरोहल आइतवार नेपालीमय बनेको थियो । समयमै कार्यक्रम सुरु नहुने जापानको नेपाली समुदायमा बिद्यमान रोगलाई चिर्न आयोजक एनआरएन जापानले घनिभूत प्रयास गरेको देखिन्थ्यो यद्यपि महजात्रा पनि पूर्वघोषित समयमै भने सुरु हुन सकेन ।

परोपकारी कोष स्थापनार्थ महजात्रा ओसाकामा यहि २२ तारिख मंगलवार र २४ तारिख बिहीवार फुकुओकामा पनि हुँदै छ । ****

तपाईको प्रतिक्रिया