शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं– मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका सभासद एवम् केन्द्रीय सदस्य डा. वीरेन्द्रप्रसाद महतोले प्रमुख राजनीतिक दल तथा आन्दोलनरत दलहरुले तत्काल वार्ता गरि देशलाई निकास दिनुपर्ने धारणा राखेका छन् । त्यसको लागि उनले सरकारले गम्भिर भएर वार्ताको पहल गर्नुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको काठमाडौंमा संक्षिप्त कुरा गर्दै डा. महतोले तराई मधेसमा जारी आन्दोलनप्रति कुनै ध्यान नदिई प्रमुख राजनीतिक दलहरु सत्ताको फोहोरी खेलमा लागेको आरोप लगाएका हुन् । उनले भने, ‘तराई र पहाडका जनता मरिरहेका छन्, तर काठमाडौंमा बस्ने नेताहरुलाई केही चिन्ता छैन ।’

सभासद महतोले मधेस आन्दोलन देश टुक्र्याउन नभई मधेसी जनताको अधिकार सुनिश्चिताको लागि भएको प्रस्ट पारेका छन् । उनले नेपालका शासकहरुले मधेसी जनतामाथि धोकाधडीको राजनीतिक गरेको गुनासो पाख्दै भने, ‘मधेसी जनताको अधिकारका लागि राज्यले गरेका विभिन्न सम्झौताहरु कागजमा मात्रै सीमित भएका छन्, नकि कार्यन्वयन गर्ने चेष्टा सरकारले गरेको छ ।’

राजनीतिक खिचातानीका कारण नेपाली जनताले चाडपर्वको मुखमा दुःख पाईरहेको उल्लेख गर्दै सभासद महतोले शीर्ष नेताहरुले व्यक्तिगत स्वार्थभन्दामाथि उठेर चाडपर्वको मुखमा जनतालाई दुःख दिनु गलत हो भन्ने भावानाका साथ अगाडि बढ्दै राजनीतिक निकास निकाल्नुपर्ने तर्क गरेका छन् ।

उनले भने, ‘भगवानसँग साक्षी राखेर हामीले राजनीतिक लोभमा नफसी अगाडि बढ्न् प्रण गर्नुपर्दछ कि हाम्रो कारणले हामी सम्पूर्ण नेपाली पहाडी र मधेसी सबैले दुःख पाएका छन् त्यसैले अब वार्ताबाटै निकास खोज्नुपर्छ भनेर लाग्यौं भने एक दिनमा अहिलेको समस्याको समाधान हुन्छ ।’

तपाईको प्रतिक्रिया