Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपालको राजनीतिमा एक भरोसायोग्य खेलाडिका रुपमा परिचय बनाएका एमाओबादीका नेता डा. बाबुराम भट्टराईको आकस्मिक आएको राजीनामाले नेपाली राजनीति बजारमा अझै चर्चा सेलाएको छैन । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई पार्टीभित्र र बाहिर बेलाबेलामा विवादमा आइरहने नेता हुन । नेपालको आर्थिक क्रान्तिको वकालत गर्ने नेता भट्टराईले तिसौ वर्ष लगानी गरेको पार्टी चटक्कै छोड्नुको कारण के छ त ? अहिले आम जनमानसमा कौतुहुलताको बिषय यही बनेको छ ।

संबिधान निर्माण कार्यमा जिम्मेवार भूमिकामा रहेका भट्टराई संबिधान घोषणाको पूर्वसन्ध्यामा आएर बेचैन देखिन्थे, कारण थियो संबिधान सभाबाट संबिधान निर्माण गर्ने एमाओबादीकै एजेण्डा भए पनि त्यसमा कतिपय माओबादीका एजेण्डाहरु जस्तै आदिबासी जनजाति, महिला, दलित, तराई-मधेश, अल्पसंख्यक पिछडावर्गको हकहित र अधिकार सुनिश्चित गर्न नसकिएकोमा उनी खिन्न देखिन्थे । यस घटनामा उनले पहिले देखिनै भन्दै आएको नयाँ शक्तिको आवश्यकता तब महशुस गर्न पुगे, जब हिमाल, पहाड र तराईले संगै दीपावली गर्ने संबिधान बन्न सकेन । त्यस अघि नै ५ टुक्रामा विभाजित माओबादीलाई ६ टुक्रा पुर्‍याउन उनको पार्टी त्याग भने होइन भन्ने कुरा उनको एकल बहिर्गमनले पुष्टि गरेको छ । उनका समर्थकहरु पार्टीभित्रै अन्तर्संघर्ष गरेर अगाडि बढ्ने उदघोष सार्बजनिक गर्दै आईरहेका छन् ।

मुलुक अत्यन्त संवेदनशील घडिमा उभिएको बेला डा. भट्टराईले एक्कासी पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएपछि यसको कारणबारे धेरैले धेरै किसिमको अड्कलबाजीहरु लगाउने नै भए । मुलुकलाई एकताबद्ध गरेर भारतीय नाकाबन्दीको प्रतिकार गर्ने बेलामा अनायसै आएको भट्टराईको राजीनामालाई सही कदमको रुपमा ब्याख्या हुने त कुरै भएन । यद्यपि आफ्नो निजी स्वार्थका लागि र मुलुकको अहित हुने कदमका रुपमा भने ब्याख्या गरिनु हतार हुने छ ।

लामो समय संघर्ष गर्दै माओवादी पार्टीलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन उनको महत्वपूर्ण भूमिका थियो । तर, समाज परिवर्तन पुरानो शक्तिबाट हुन नसक्ने समयअनुसार नयाँ शक्तिको आवश्यकताबोध भएको संकेत गर्दै उनले राजीनामा दिए । यो कदमपछि एमाओवादी अध्यक्षसँगको २६ वर्ष लामो उनको सम्बन्ध डिभोर्स भएको छ । दस वर्ष लामो सशस्त्र विद्रोहको उत्कर्षमा बाबुराम ‘जनसरकार प्रमुख’ थिए भने दाहाल पार्टीका नेता (पहिले महासचिव, पछि अध्यक्ष) सँगै जनसेनाका सर्वोच्च कमाण्डर थिए ।  गोरखा १ बाट संसदमा प्रतिनिधित्व गरेका भट्टराईले सभामुख सुवास नेम्वाङसमक्ष सांसद पदबाट पनि राजीनामा दिएका छन् तर राजीनामा भने स्वीकृत भएको छैन ।
भट्टराईले संविधानसभाबाट संविधान घोषणा भएकै दिन आफू पूर्ण रूपमा खुसी हुन नसकेको, आधा जनसंख्या बस्ने तराईमधेसलाई समेट्न नसकेको गुनासो पोखेका थिए ।

यसकारण छाडें एमाओवादी – डा. भट्टराई

baburam_bhattarai1मैले नेपालमा ४० वर्ष सम्म राजनीतिमा सक्रिय ढंगले काम गर्दै आएँ । सुरुको चेतना, २०३२/०३३ सालको चेतना एउटा गणतान्त्रिक चेतना मात्रै थियो । म कांग्रेस, कम्युनिष्ट केही पनि चिन्दैनथिएँ । नेपालमा राजतन्त्र ठिक छैन, यो अन्त्य हुनुपर्छ भन्ने मात्रै चेतना थियो । त्यही चेतनाबाट मैले आफैंले चण्डीगढमा पढ्दा विद्यार्थी संगठन बनाएर राजनीति सुरु गरेको थिएँ ।
पछि अखिल भारत नेपाली विद्यार्थी संघ हुँदै र पछि कांग्रेस-कम्युनिष्ट सबैसँग सहकार्य गर्दै अन्त्यमा कम्युनिष्ट पार्टीमा आवद्ध भएर त्यहाँबाट माओवादी हुँदै, १०-वर्षको जनयुद्ध हुँदै अहिले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधानसभाबाट संविधान बनाउने खण्डसम्म मैले राजनीतिक यात्रा गरें । यहाँ आइसकेपछि नेपालले एउटा युग र एउटा चरण पूरा गरेको छ ।
नेपाली समाजको विकासको अर्को नयाँ युग अगाडि बढ्दै छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर आर्थिक विकास र समृद्धि हुँदै त्यसको जगमा समाजवादको दिशामा जाने अबको युग हुन्छ । त्यसको निम्ति पार्टी भनेका साधन हुन्, साध्य होइनन् । साध्य भनेको जनताको समृद्धि, खुशीयाली हो तर पार्टी भनेको साधन हो, हतियार मात्रै हो ।जस्तो कि कुनै कालखण्डमा तरकारी काट्नको निम्ति चक्कु बन्छ भने खसी काट्नुपर्‍यो भने त्यही चक्कुले हुँदैन, खुकुरी चाहिन्छ । त्यसैले एउटा युगमा आवश्यकताअनुसार बनेको पार्टी अर्को युगको निम्ति नयाँ ढंगको पार्टी आवश्यक पर्ने हुन्छ । त्यसै क्रममा पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थालाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनको निम्ति पूँजीवादी क्रान्ति सम्पन्न गर्नको निम्ति हामीले जुन पार्टी बनायौं एकीकृत नेकपा (माओवादी) को रुपमा पछिल्लो चरणमा आइपुग्यो, यसले एउटा कालखण्डको काम पूरा गर्‍यो ।

अब नयाँ युगको निम्ति त्यो पुरानो पार्टीले पुग्दैन । नयाँ ढंगले नयाँ पार्टी, नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको नयाँ ढंगले पार्टीलाई पुनर्निर्माण/नवनिर्माण गरेर जानुपर्छ र हिजोको जुन माओवादी आन्दोलन हो यहाँसम्म आईपुग्दा धेरै टुक्रामा विभाजित बनिसकेको छ । नयाँ नयाँ शक्तिहरु बाहिर आइसकेका पनि छन् । २०६२ सालपछिको १०, १२ वर्षमा कुनै पनि पार्टीमा नलागेका नयाँ युवा पुस्ता पनि अगाडि आइसकेको छ । यो सन्दर्भमा हेर्दा हामीले फेरि नयाँ ढंगले अगाडि हिड्नुपर्ने आवश्यकता छ । त्यसैले मैले केही समयदेखि अब पार्टी पनि आफूलाई नयाँ ढंगले रुपान्तरण गरेर जानुपर्छ भन्दै आइराखेको थिएँ ।
संविधानसभाबाट एउटा चरण पूरा भइसकेको सन्दर्भमा मैले अब त्यसमा के गर्न सक्छु, सबैसँग व्यापक छलफल गर्ने आशयले आजैका मितिदेखि लागू हुने गरी मैले एकीकृत नेकपा (माओवादी) को सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण तहका मेरा दायित्वहरु र साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गर्दछु । यो जानकारी मैले एमाओवादी पार्टी अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छु । आजपछि म विल्कुल स्वतन्त्र नागरिक मात्रै बनेको छु, म अब कुनै पार्टी सदस्य छैन ।
यसको अर्थ अब के गर्ने भन्ने विषयमा पूरै खाका मेरो दिमागमा छैन तर मैले आफ्नो दिमाग खुला राखेको छु र विचार मिल्ने सबै पक्षहरुसँग, पार्टीभित्र रहेका, पार्टीबाहिर रहेका, अन्य पार्टीभित्र रहेका, कुनै पनि पार्टीमा नरहेका सबैसँग एकचोटी सरसल्लाह गरेर कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ त्यो ढंगले मैले आफूलाई प्रस्तुत गर्ने सोंच बनाएको छु । यसको साथसाथै गोरखा क्षेत्र नम्बर १ बाट एमाओवादी पार्टीबाट सबभन्दा ठूलो मार्जिनबाट विजयी भएको हुँ, तर मैले पार्टीपरित्याग गरिसकेपछि स्वतः नै मैले व्यवस्थापिका संसद्को सदस्य पनि परित्याग गर्नुपर्छ । त्यसैले आज नै मैले व्यवस्थापिका-संसद्का सभामुखलाई पत्र लेखेर व्यवस्थापिका संसदबाट पनि राजीनामा दिएको जानकारी गराएको छु । म अब व्यवस्थापिका संसद्को सदस्य पनि छैन र कुनै पार्टी सदस्य पनि छैन । आगामी दिनमा म यो देशको एक नागरिकको रुपमा के गर्न सकिन्छ त्यसमा लाग्नेछु । ***

तपाईको प्रतिक्रिया