शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

विद्यालय धमाधम बन्द हुँदै

मेलम्ची- भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बढेको छ ।

थोरै चलेका सवारीसाधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको मेलम्ची नगरपालिकाका युवा सुमन दुलालले बताउनुभयो । पेट्रोलियम पदार्थ पाउन छाडेपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे, चौतारा, मेलम्चीका सर्वसाधारणले निकै कष्ट भोग्नु परेका छन् । पेट्रोलियम पदार्थ अभावले भएका मोटरसाइकल पनि थन्किएपछि सार्वजनिक सवारीमा ज्यान जोखिममा राखी लामो दूरीको यात्रा झुन्डिएरै गर्नुपरेको र घन्टौँ कुर्दा पनि बस नपाइने, पाए पनि उभिने ठाउँसमेत नहुँदा ढोकामै उभिएर काठमाडौंसम्मको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासो छ । बसभित्र खोँचाखोँच यात्रु हुन्छन् कतिपय त निस्सासिएर बेहोससमेत हुने गर्छन् ।

तालामाराङका क्षितिज देउजाले भने बसको छत वा ढोकामा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको अवस्था छ । विद्यालय टाढा भएकाले बसले समेत विद्यार्थीलाई रोक्दैन, हिँडेर जाँदा विद्यालय समयमा पुग्न नसकिने विद्यार्थीले गुनासो पोखे । सीमित रुपमा चलेका सवारीसाधनका कारण क्षमताभन्दा बढी यात्रुलाई राखी सञ्चालन हुने गरेका छन् । पेट्रोल अभावले सर्वसाधारणको दैनिकी नै कष्टकर बन्दै गएको यात्रुको गुनासो छ । क्षमताभन्दा बढी यात्रु राखी सवारीसाधन नचलाउन इलाका प्रहरी कार्यालय मेलम्चीले आग्रह गरेको भए पनि यात्रुको समस्या र सीमित सवारीसाधनको कारणले सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

यसैबीच, इन्धनको चरम अभाव भएपछि भक्तपुरमा सञ्चालित विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

इन्धन अभाव भएपछि केही विद्यालय एक/दुई दिन अघि नै बन्द भएका थिए भने परीक्षा नसकिएका विद्यालयले भने परीक्षा सकिएलगत्तै बन्द गर्ने भएका छन् ।

प्याब्सन भक्तपुरले इन्धन अभावको विषयमा बैठक राखेर जिल्ला प्रशासन कार्यालयसँग विद्यालयलाई इन्धन उपलब्ध गराइदिन आग्रह गरेपनि इन्धन नपाएपछि विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो । प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले इन्धन अभाव भएपछि विद्यार्थीलाई विद्यालयसम्म ल्याउने लैजाने व्यवस्था गर्न नसक्दा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन गर्दा पनि बसमा आउने विद्यार्थी आउन नसक्ने भएपछि ४० प्रतिशत विद्यार्थीलाई मात्रै पढाउने कुरा हँुदैन, त्यसैले परीक्षा सकिएलगत्तै विद्यालय बन्द गर्छौँ ।”

भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले चाहेर पनि विद्यालय सञ्चालन गर्न नसक्ने अबस्थामा पुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया