शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

मुस्ताङ- मार्फाकी मेनुका ज्वारचनले मिस मुस्ताङ सन् २०१५ को उपाधि जितेकी छन् ।

मुस्ताङको टुकुचेमा जारी ४५औँ थाक खेलकुद तथा सांस्कृतिक महोत्सवमा १८ वर्षीया ज्वारचनले आठ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

थकाली समुदायको महत्वपूर्ण पर्वका रुपमा सञ्चालन हुँदै आएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवमा सन् २०१० देखि मिस मुस्ताङको इभेन्ट पनि थप गरिएको हो । उपाधिसँगै ज्वारचनले ताज र नगद रु १० हजार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप जोमसोमकी करचिङ गुरुङ र सेकेन्ड रनरअप जोमसोमकै शशि तामाङ भएको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका उपाध्यक्ष गणेश शेरचनले बताउनुभयो ।

“प्रतियोगितामा सहभागी सबैको शारीरिक बनोटमात्र होइन अन्तरनिहित क्षमता पनि हेरिन्छ, निर्णायक मण्डल बनाएर हामीले मिस मुस्ताङ छनोट गर्दै आएका छौँ” – उपाध्यक्ष शेरचनले भन्नुभयो ।

उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप सबैलाई आयोजक समितिका अध्यक्ष प्रेम तुलाचनले पुरस्कार प्रदान गर्नुभयो । मिस मुस्ताङ प्रतियोगिताले स्थानीयस्तरमा प्रतिस्पर्धी भावनाको विकास गराएको अध्यक्ष तुलाचनले बताउनुभयो । प्रतियोगिताबाट सहभागीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया