मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा विवाह भोज खाँदा एकैपटक १५० जनाभन्दा बढी बिरामी भएका छन् ।

बगरफाँटका दीपेन्द्र कार्की र माझफाँट पर्वतकी सरस्वती जिसीको विवाहमा दुलहाको घरमा भोज खाएकाहरु बिरामी भएका हुन् ।

शुक्रबार भोज खाएर सुतेपछि रातिदेखि नै टाउको दुख्ने, पखाला चल्ने, वाकवाक्की लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएपछि उनीहरुलाई शनिबार बिहानदेखि जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

भोज खाएकामध्ये धेरैजसोमा एउटै लक्षण देखिएपछि भोजको खानाको कारण बिरामी भएको हुनसक्ने भन्दै स्थानीयले स्वास्थ्यकर्मी र प्रहरीलाई खबर गरेका थिए । बिरामीको रगत परीक्षणअनुसार विषाक्त खानाका कारण एकैपटक धेरै जना बिरामी भएको पाइएको जिल्ला अस्पताल म्याग्दीका चिकित्सक धिरेन मल्लले जानकारी दिनुभयो ।

अस्पतालमा ११७ जना बिरामीको उपचार गरिएको र स्वास्थ्यकर्मीको एक टोली बगरफाँटमै पुगेर ३७ जना बिरामीको उपचार गरेको उहाँले बताउनुभयो । सदरमुकाम बेनीसँग जोडिएको बगरफाँट गाउँबाट बिरामीलाई एम्बुलेन्स र अन्य सवारीसाधनमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा ल्याएर उपचार गरिएको छ ।

तपाईको प्रतिक्रिया