मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

सात बुँदे संशोधन प्रस्ताव मधेसी मोर्चाको होइन

विराटनगर- सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाको अान्दोलनका क्रममा छिमेकी देश चीनको झण्डा जलाउनु निन्दनीय भएको बताएका छन्। आज आफनो निवासमा आयोजित पत्रकार भेटघाटमा उनले भने- चीन र भारतको झन्डा जलाउनु र भारतीय नेताको पुतला जलाउने जस्ता कार्य निन्दनीय हुन्।

उनले राजनीतिक मुद्दाको समाधान राजनीतिक प्रक्रियाबाट नै हुने भएकाले वार्ताको वातावरण बनाउनका लागि सेना र सशस्त्र प्रहरी ब्यारेकमा फिर्ता हुनुपर्ने माग दोहोर्याए।

एकपक्षीय संविधान कदापी स्वीकार नहुने उल्लेख गर्दै उनले भने-विगतमा मधेसी, आदिवासी जनजाति, महिला र दलितलगायतसँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्ने कि नगर्ने विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ।

संविधान संशोधनका लागि चर्चामा रहेको सात बुँदे माग संयुक्त मधेसी मोर्चाको नरहेको स्पष्ट पार्दै उनले भने ‘वार्तामा माग प्रस्तुत गर्ने गरिन्छ, अहिलेसम्म सरकारसँग कुनै वार्ता नभएको अवस्थामा यो माग कहाँबाट आएको हो यस सम्बन्धमा आफूलाई जानकारी छैन।’

पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले अनौपचारिक रुपमा धेरैसँग वार्ता भएको जानकारी गराउँदै सरकार ठोस रुपमा प्रस्तुत भएमा दुई चार दिनमा वार्ता हुनसक्ने सङ्केत दिए।

वार्ताको स्थलका लागि अडान नलिएको भन्दै उनले काठमाडौँलगायत मुलुकको जुनसुकै स्थानमा वार्ताका लागि आफूहरु तयार रहेको प्रष्ट पारे।

उनले नेपालको आन्तरिक समस्यालाई नेपालीले नै समाधान गर्नुपर्ने उल्लेख गर्दै छिमेकी राष्ट्रले दिएको सुझाव, सल्लाहलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया