Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– राष्ट्रिय स्वयंसेवक परिचालन अभियानअन्तर्गत तेस्रो दिनसम्म नेकपा (एमाले)ले २ सय घर निर्माण गरेको जनाएको छ ।

केन्द्रीकृत रुपमा १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा खटिएका स्वयंसेवकहरुले पीडित जनसमुदायका घर भत्काएर सफाई गर्ने, बाटो सफाई गरी खुला गर्ने, मन्दिर, देवल र पाटीहरुको सरसफाइ गर्ने, सरकारी विद्यालयहरुको भग्नावशेष हटाई अस्थायी संरचना निर्माण गरेर कक्षा सञ्चालनयोग्य बनाउने र नयाँ अस्थायी घर निर्माण गर्ने कार्यलाई तीब्रता दिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

हालसम्म अभियान सञ्चालित उपत्यकाका १५ निर्वाचन क्षेत्र तथा सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लामा मात्रै तीन दिनमा २ सयभन्दा बढी अस्थायी घर निर्माण भइसकेका छन् ।

यसक्रममा काठमाडौंको बालाजु, झोर, गोंगबु, बाफल, सिन्धुपाल्चोकको सिपापोखरी, ललितपुरको चापागाउँ नगरपालिकाअन्तर्गत डाँडागाउँ र बोहरा गाउँ तथा लामाटार, गोदामचौर आदि गाउँ, भक्तपुरको महामञ्जुश्री नगरपालिका र धादिङको थाक्रे गाविसमा अस्थायी घर बनाउने कार्यले तीव्रता पाएको छ ।

अभियानका क्रममा भूकम्पमा परी ज्यान गुमाउने मृतक परिवारका घरपरिवारहरुलाई केन्द्रित गरी अस्थायी बसोबास निर्माण गर्न केन्द्रित हुने, दलित, विपन्न, एकल महिला र अपाङ्गता भएका परिवारलाई आधारित गरी सम्पूर्ण शक्ति परिचालित गरेर अस्थायी बसोबास मिलाउनेजस्ता कामहरु भइरहेका थापाले बताउनुभयो ।

काठमाडौंको झोर, दोलखाको मैनापोखरी, काब्रे र बाबरे, सिन्धुपाल्चोकको कर्थली, सिखरपुर, तारामराङ र महाकांल गाविस, नुवाकोटको गणेशस्थान, बेलकोट र मदनपुर, धादिङको सल्यानटार र आरुघाट, रसुवाको भोर्लेटार लामाचेप, रामेछापको मन्थली (पुरानो चिसापानी) आदि स्थानमा २५ वटाभन्दा बढी सरकारी विद्यालयहरुको भग्नावशेष हटाउने, भत्किएका सामग्रीहरु पन्छाउने आदि काम गरिएको छ ।

यसैक्रममा नुवाकोटको गणेशस्थान–१ स्थित जाल्पा युवा प्राविको चारकोठे स्कूल भवन निर्माण गर्नुका साथै अर्को एउटा भवनको मर्मत सम्भार गरेर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त निर्माण कार्यको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले निरीक्षण समेत गर्नुभएको छ ।

चालू अभियानका क्रममा जम्मा २५० भन्दा बढी भत्किएका निजी घरहरु सरसफाइ गरी महत्वपूर्ण सामग्री र धनदौलत निकाली सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको छ । विभिन्न ठाउँमा चारवटा मन्दिर र ९ वटा बाटोको सरसफाइ गरिएको छ भने पाँचवटा उद्धारका कामसमेत गरिएको छ ।

यस अभियानका संयोजक पार्टी सचिव तथा मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टले पार्टीको यस अभियानअन्तर्गत बढीभन्दा बढी अस्थायी घर र टहरा निर्माण गरी वर्षात् अघि नै पीडित जनसमुदायलाई ओतको व्यवस्था गर्ने काममा सबै स्वयंसेवकहरु केन्द्रित हुनुपर्ने तथा नवनिर्माणको सन्देश प्रवाहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया