काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरुले कर्मचारीतन्त्रबाट भूकम्पपीडिलाई प्रभावकारी रुपमा राहत वितरण हुन नसकेको धारणा राखेका छन् ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै उनीहरुले हरेक निर्वाचन क्षेत्रमा सभासदहरु सम्मिलित अनुगमन समिति गठन गरे राहत वितरणको कार्य प्रभावकारी हुने विचार राखेका छन् । जनताको प्रतिनिधिका रुपमा रहेका सभासदहरुलाई राहत वितरणमा भूमिका नदिएकोमा उनीहरुले आक्रोश पोखेका छन्
बैठकपछि उपसभापति रामचन्द्र पौडेलले क्षेत्रीय तहमा अनुगमन तथा राहत वितरणको अवस्था बुझ्न र पुर्ननिमार्णको काममा सहयोग पुर्याउन सभासद रहने गरी समिति बनाउन माग आएको बताए ।
सभासद्हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना गरेको सभासद रामहरि खतिवडाले जानकारी दिए । सभासदहरुले बोल्ने क्रम नसकिएपछि बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।