Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पले क्षतिग्रस्त नेपालको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय निकायबाट सहायता जुटाउन आगामी एक सातभित्र स्थानीय दातृ संस्था र आगामी दुई महिनाभित्र दाताहरूको सम्मेलन हुने भएको छ ।
स्थानीय दातृ समुदायसँग आज अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री डा रामशरण महतले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण र नवनिर्माणका लागि दातृ निकायको ठूलो सहयोगको नेपाललाई आवश्यकता परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नयाँ नेपाल निर्माण गर्ने छौँ र यसलाई अझ सुन्दर बनाउने छौँ । हाम्रा विकास साझेदारहरु र मित्रहरुबाट यो बेलामा अझ ठूलो सहयोगको खाँचो छ । अब हामी पुननिर्माणको चरणमा प्रवेश गर्दैछौं । त्यसका लागि नेपाल सरकार तपाईहरूसँग बसेर पुनःनिर्माणको सम्भावनाबारे विस्तृत छलफल तथा विचारविमर्श गर्न चाहन्छ ।”
दाताहरुको दक्षता, इच्छा र क्षमता अनुसारको कामको जिम्मेवारी र भूमिका तय गरिने जानकारी बताउँदै अर्थमन्त्रीले नेपालले झेल्नु परेको विपतको घडीमा अन्तर्राष्ट्रिय समुदायले ठूलो सदाशयताका साथ सहयोग गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि अधिकारसम्पन्न छुट्टै प्राधिकरण स्थापना गरी द्रुतगतिमा काम गरिने जानकारी पनि दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले क्षतिको विवरण र त्यसपछिको योजनाका बारेमा आयोगका सदस्यले काम गरिरहेको जानकारी दिनुभएको थियो । उहाँले पुनः निर्माण एवम् निर्माणका काममा आयोगसँग समन्वय गर्न पनि अनुरोध गर्नुभयो ।
विश्व बैंकका राष्ट्रिय निर्देशक जोहानेस जाटले नवनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरणको स्थापना राम्रो अवधारणा भएको बताउँदै नेपालले अघि सारेको कार्ययोजनामा सहयोग गर्न विश्व बैकको तत्परता प्रस्तुत गर्नुभयो । बैठकमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, युरोपेली सङ्घ, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग-जाइका, बेलायतको अन्तर्राष्ट्रिय विकास विभागलगायत दातृ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया